वैदेशिक रोजगारीमा जाने ९६ प्रतिशत नेपाली ठगिएका छन्, टुलुटुलु हेरेर बस्न सकिंदैन : मन्त्री अर्याल

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा ठगिएका नागरिकहरूलाई टुलुटुल हेरेर नबस्ने बताएका छन् । प्रतिनिधिसभाको आज (आइतबार) को बैठकमा मन्त्री अर्यालले वैदेशिक रोजगारीमा जाने नागरिकहरूको पक्षमा सरकारले काम गरिरहेको पनि दावी गरे । उनले फ्री भिसा, फ्री टिकटले विकराल अवस्था सिर्जना गरेको पनि बताए । फ्री भिसा, फ्री टिकट जम्मा ४ प्रतिशत मात्रै कार्यान्वयन भएको भन्दै बाँकी ९६ प्रतिशत नागरिक विदेशिक रोजगारीमा जाँदा ठगिएको उनको भनाइ छ ।
‘फ्री भिसा, फ्री टिकटसम्बन्धीको जुन विषयवस्तु छ, यसले एउटा विकराल अवस्था सिर्जना गरेको छ । करिब एक खर्ब तीन अर्ब रुपैयाँ हरेक वर्ष बैंकिङ च्यानलमा नआइकन बजारमा चलेको हुन्छ । जुन त्यहीँ नागरिकबाट ठगिएको देखिएको छ । त्यस कारणले यसको अन्त्य त गर्नु नै पर्छ, गर्नु नै छ,’ मन्त्री अर्यालले भने, ‘अहिले पनि फ्री टिकट, फ्री भिसा जम्मा ४ प्रतिशत मात्र कार्यान्वयनमा आएको भनेर हामीले डाटा प्राप्त गरेका छौँ । त्यसकारणले यसलाई मैले संवेदनशील रुपमा हेरेको छु । ९६ प्रतिशत नागरिक जो विदेश जानु भएको छ, उहाँहरूमाथि ठगिएको विषयलाई मैले टुलुटुलु हेरेर बस्न सक्दिनँ ।’
मन्त्री अर्यालले फ्री भिसा, फ्री टिकले निम्त्याएको समस्या समाधान गर्नका लागि काम गरिरहेको जानकारी दिए ।‘’हामीले बैंकिङ च्यानलबाट कारोबार गराउनका लागि त्यसमा उच्चतम प्रयास गरिरहेका छौँ । त्यो भइसके पछाडी नागरिकहरु ठगिनबाट अझ बच्नु हुन्छ भन्ने मेरो बुझाइ छ,’ उनले भने । हरेक वर्ष करिब १ खर्ब ३ अर्ब रुपैयाँ बैंकिङ च्यानल बाहिर रहेर कारोबार भइरहेको भन्दै त्यसैबाट नेपाली नागरिक ठगिइरहेका अर्यालको भनाइ थियो ।
तीन वर्षमा चार हजार श्रमिकले विदेशमा गुमाए ज्यान
तीन वर्षको अवधिमा वैदेशिक रोजगारीमा गएका तीन हजार ९९८ जनाले ज्यान गुमाएका छन् । प्रतिनिधिसभामा आइतबार बजेटमाथिको मन्त्रालयगत छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले तीन वर्षको अवधिमा एक हजार २०७ जना अंगभंग भएको पनि जानकारी दिए ।
‘वैदेशिक रोजगार बोर्डको तथ्यांक अनुसार आर्थिक वर्ष ०७८/०७९ देखि चालु आर्थिक वर्षको जेठ मसान्तसम्म वैदेशिक रोजगारीमा गएका नेपालीहरूमध्ये तीन हजार ९९८ को निधन तथा एक हजार २०७ जना अंगभंग भएका छन्, उनले सदनमा भने । मन्त्री अर्यालका अनुसार सरकारले मृतकका आफन्त र अंगभंग भएकाहरूका लागि दुई अर्ब ९ करोड ४६ लाख २२ हजार रुपैयाँ आर्थिक सहायता उपलब्ध गराएको छ ।