काठमाडौं, २३ बैसाख । यातायात सिण्डिकेटको पक्षमा आन्दोलन गर्ने क्रममा पक्राउ परेका नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका पदाधिकारीहरु रिहा भएका छन् ।
समितिका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य, उपाध्यक्ष विजयबहादुर स्वाँर, महासचिव सरोज (पुण्यप्रसाद) सिटौला, उपमहासचिव वसन्त भण्डारी, कोषाध्यक्ष किरण खड्का र प्रदेश ३ का संयोजक धर्मराज रिमाल रिहा भएको प्रहरीले जनाएको छ ।
‘नेपाल सरकारले यातायात क्षेत्रमा सिन्ण्किेट तोड्न चालेको कदमप्रति मेरो पूर्ण समर्थन र विश्वास रहेको छ । हामी र हाम्रो व्यवसाय नेपाल सरकारको नीति निर्णय तथा कानुनी व्यवस्था प्रतिकूल हुने गरी सञ्चालन गर्ने छैनौं र अरु कसैलाई पनि प्रचलित कानुन र नेपाल सरकारको नीति प्रतिकूल हुने कार्यक्रमा प्रोत्साहन गर्ने छैनौं ।
अब उप्रान्त हामी र हामी सम्बद्ध यातायात व्यवसायलाई प्रचलित कानुन बमोजिम दर्ता गरी सरकारको नीति अनुकूल सञ्चालन गर्नेछौं, यातायात क्षेत्रमा सरकारले चालेको सिण्डिकेट हटाउने कदमको स्वागत गर्छौं । त्यसविरुद्ध गएमा हाम्रो नाममा दर्ता भएको सवारी साधनको रुट इजाजत पत्र खारेज गर्न तथा हामीलाई प्रचलित कानुन बमोजिम जस्तोसुकै कार्वाही भएमा पनि हाम्रो मञ्जुरी छ भनी यो कागज लेखी लेखाई सहिछाप गरी नेपाल सरकारलाई चढायौं,’ भनी सबै पदाधिकारीले हस्ताक्षर गरेका छन् । प्रहरीले महासचिव सिटौलालाई शुक्रबार पक्राउ गरेको थियो भने बाँकी पदाधिकारीलाई शनिबार बेलुका पक्राउ गरिएको थियो ।