बलात्कारीलाई मृत्युदण्डको पैरवी


२०७७ असोज १३ मंगलबार १९:३७ बजे

काठमाडौं, १३ असोज । कलिला नानीहरूको घाँटी निमोठ्ने मानव सभ्यता विपरीतका घटनालाई विद्यमान कानुनले थेग्न नसकेपछि महिला सांसदहरू यसमा कठोर भएर जाने निष्कर्षमा पुगेका छन् ।

यस्ता कुकार्यमा संलग्नहरूलाई मृत्युदण्डको सजाय दिनुपर्ने उनीहरूको ठहर छ ।
त्यसका लागि संविधान, कानुन र अन्तर्राष्ट्रिय सन्धिरसम्झौतामा परिवर्तन वा परिमार्जन गर्न पछि पर्न नहुनेमा सबै दलका महिला सांसदको एकमत छ ।

प्रतिनिधिसभा र राष्ट्रियसभाका ३२ सांसदको सोमबारको भेलाले १६ वर्ष मुनिका बालिकाको बलात्कार गर्नेलाई मृत्युदण्डको सजाय दिनुपर्ने आवाज उठाएको हो । भेलाले मृत्युदण्ड सजायको व्यवस्थाका लागि अध्ययन गर्न ९ सदस्यीय समिति नै गठन गरेको छ । प्रमुख विपक्षी कांग्रेसकी प्रमुख सचेतक पुष्पा भुसालले १६ वर्षमुनिका बालिका बलात्कार गर्नेलाई मृत्युदण्डको सजाय दिने व्यवस्थाका लागि सामाजिक रूपमै दबाब सिर्जना गर्नुपर्ने बताइन् ।

मृत्युदण्डको व्यवस्थाका लागि संविधान संशोधन प्रस्ताव ल्याउन सरकारलाई सिफारिस गर्नुपर्ने उनको भनाइ थियो। नेकपाकी सचेतक शान्ता चौधरीले बलात्कारीलाई कि मृत्युदण्डको व्यवस्था गर्ने कि नपुंसक बनाउने भन्नेमा बहस हुनुपर्ने धारणा राखिन् । चौधरीले दिनमा सातवटासम्म बलात्कारका घटना दर्ता भएको सरकारी आँकडा नै पेस गरिन् ।

‘बलात्कार गरेर मान्छे मार्नेका लागि राम्रो कानुन बनाइराख्नु आवश्यक छैन,’ चौधरीले भनिन्, ‘आपराधिक मानसिकता बोकेकाहरूलाई तह लगाउने गरी कानुनको व्यवस्था गरौं ।’ सांसद शान्तिमाया पाख्र्रिनले फाँसीको सजाय दिने व्यवस्था नभएसम्म बलात्कारीको मनोबल नघट्ने बताइन् ।

‘१६ होइन २१ वर्षमुनिकालाई बलात्कार गर्नेलाई फाँसीको सजायको व्यवस्था गरौं’, उनको प्रस्ताव थियो। सांसद आशा विकले विशेषगरी गरिब, निमुखा र कथित तल्लो जातका बालिकामाथि बलात्कारका घटना भइरहेको भन्दै मृत्युदण्डसम्बन्धी कानुन निर्माणका लागि संसद् र सरकारले विशेष पहल गर्न‘पर्ने धारणा राखिन् ।

सांसद लक्ष्मी विकले दलित र गरिबमाथि बलात्कारका घटना भइरहेको बताइन् । ‘बलात्कारीलाई फाँसी र पीडितलाई शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था हुनुपर्छ’, उनले भनिन्, ‘यहाँ त गरिबीसँग भावना साट्ने काम भइरहेको छ । बलात्कार गर्ने र पैसाको बार्गेनिङ गरेर घटनालाई भित्रभित्रै सामसुम पार्ने काम भइरहेका छन् ।’

सांसद कोमल वलीले बलात्कारका घटनामा मिलापत्र गरेर बिहे गरिदने प्रचलन अन्त्य गर्न‘पर्ने बताइन् । महिला बालबालिका समिति सभापति नीरूदेवी पालले बलात्कारीलाई मृत्युदण्डको सजायको कानुनी व्यवस्थाका लागि आफ्नो समितिले पनि साथ दिने उल्लेख गरिन् ।

महिला सांसदहरूको भेलाले मृत्युदण्डको कानुनी व्यवस्थाका लागि अध्ययन गर्न नेकपा सांसद बिन्दा पाण्डेको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरेको छ । समितिमा सांसदहरू शान्ता चौधरी, पुष्पा भुसाल, नीरूदेवी पाल, अमृता थापा, पार्वती थापा रावल, प्रमिलाकुमारी यादव, अनिता देवकोटा र लक्ष्मी परियार सदस्य छन् । समितिलाई बालिका बलात्कार गर्नेलाई मृत्युदण्डको कानुनी व्यवस्थाका लागि आवश्यक अध्ययन र सिफारिस गर्ने जिम्मेवारी तोकिएको छ । अन्नपूणर् पोष्ट दैनिकबाट

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७