नेपाल टेलिकमले ल्यायो एकैपटक हजारौँलाई सूचना दिने ‘आउटबाउन्ड आईभीआर’ सेवा
काठमाडौं : नेपाल टेलिकमले एकैपटक ठूलो संख्यामा टेलिफोन तथा मोबाइल प्रयोगकर्तालाई पूर्वरेकर्ड गरिएको सूचना तथा व्यावसायिक सन्देश फोनमार्फत पठाउन सकिने ‘आउटबाउन्ड आईभीआर’ सेवा सञ्चालनमा ल्याएको छ। यस सेवामार्फत एकपटकमा हजारौँ प्रयोगकर्तालाई बढीमा एक मिनेट लामो पूर्वरेकर्ड गरिएको भ्वाइस म्यासेज पठाउन सकिनेछ।
टेलिकमले यसअघि आन्तरिक प्रयोजनका लागि परीक्षण गर्दै आएको उक्त सेवा अब संस्थागत तथा व्यक्तिगत ग्राहकका लागि व्यावसायिक रूपमा उपलब्ध गराएको हो। टेलिकमका अनुसार धेरै व्यक्तिसम्म एकैपटक सूचना पुर्याउनुपर्ने कार्यालय, व्यवसाय तथा अन्य संस्थाका लागि यो सेवा उपयोगी हुनेछ। परीक्षाको नतिजा, सार्वजनिक सूचना, सेवा सम्बन्धी जानकारी तथा प्रचारात्मक सामग्री एकैपटक ठूलो संख्यामा प्रयोगकर्तासम्म पुर्याउन सकिनेछ।
सेवा प्रयोग गर्न सम्बन्धित कार्यालय, व्यवसायी वा सूचना प्रवाहकर्ताले फोन गर्नुपर्ने नम्बरहरूको सूची र प्रसारण गर्नुपर्ने सन्देशसहितको भ्वाइस फाइल नेपाल टेलिकमलाई उपलब्ध गराउनुपर्नेछ। आवश्यक प्रक्रिया पूरा गरेपछि टेलिकमले तोकिएका नम्बरमा स्वचालित रूपमा फोन गरी रेकर्ड गरिएको सन्देश सुनाउनेछ।
यस सेवाबाट फोन प्राप्त हुँदा कलर आईडीमा सेवा प्रयोग गर्ने ग्राहक वा सेवा प्रदायकको नाममा दर्ता भएको नम्बर देखिने टेलिकमले जनाएको छ। टेलिकमका प्रवक्ता डा. कमल लामिछानेका अनुसार सेवा लिन इच्छुक ग्राहकले हाललाई दूरसञ्चार कार्यालय, सुन्धारा पुगेर निर्धारित फारम भरी सेवा सुरु गर्न सक्नेछन्। सेवाको विस्तृत जानकारी नेपाल टेलिकमको आधिकारिक वेबसाइटमार्फत प्राप्त गर्न सकिने टेलिकमले जनाएको छ।
.gif)

.png)

