विश्वविख्यात पर्वतारोही निम्सदाइ पुर्जाको आज बेलायतमा अन्त्येष्टि
काठमाडौं : पाकिस्तान प्रशासित कश्मीरको ब्रोड पिकमा हिमपहिरोमा परी निधन भएका विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल ‘निम्सदाइ’ पुर्जाको आज बेलायतमा अन्त्येष्टि गरिँदैछ। पुर्जाको पार्थिव शरीर बेलायत पुर्याएपछि परिवारले सुरक्षाका कारण गत अगस्ट ९ देखि गोप्य स्थानमा राखेको थियो।
उनको अन्त्येष्टि दक्षिण–पश्चिम इङ्ल्यान्डको ब्लान्डफोर्ड फोरमस्थित मिल्टन एबीमा गरिनेछ। अन्त्येष्टिका क्रममा पुर्जालाई ‘गार्ड अफ अनर’ प्रदान गर्ने कार्यक्रमसमेत रहेको बताइएको छ। परिवारले भने अन्त्येष्टि पारिवारिक तथा निजी रूपमा गरिने जनाएको छ।
सन् २०१९ मा विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल १८९ दिनमा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका पुर्जा विश्व पर्वतारोहण जगतमा चर्चित नाम थिए। ब्रोड पिकमा हिमपहिरोमा परी उनको निधन भएपछि पार्थिव शरीर उद्धारका लागि प्रख्यात नेपाली पर्वतारोही मिङ्मा जी शेर्पाको नेतृत्वमा टोलीले जोखिमपूर्ण उद्धार अभियान सञ्चालन गरेको थियो।
परिवारले निम्सदाइप्रति श्रद्धाञ्जली व्यक्त गर्न चाहने नजिकका व्यक्ति तथा सम्बन्धित समुदायलाई सम्भव भएसम्म अवसर प्रदान गरिने जनाएको छ। यद्यपि, शोकको यस घडीमा परिवारको गोपनीयता र निजी रूपमा शोक मनाउने अधिकारको सम्मान गर्न आग्रह गरिएको छ।
.gif)

.png)

