बाढी–पहिरोले राजमार्ग प्रभावित, विभिन्न सडकमा रात्रिकालीन आवागमन रोक
काठमाडौँ : लगातारको वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्गमा सवारी आवागमन प्रभावित भएको छ। बाढी, पहिरो तथा सम्भावित जोखिमलाई मध्यनजर गर्दै केही सडक खण्ड पूर्ण रूपमा बन्द गरिएका छन् भने जोखिमयुक्त क्षेत्रमा निश्चित समयका लागि रात्रिकालीन आवागमनमा रोक लगाइएको छ।
नेपाल प्रहरीका अनुसार कोशी, बागमती र कर्णाली प्रदेशका विभिन्न सडक खण्डमा यातायात प्रभावित भएको छ। कोशी प्रदेशअन्तर्गत मेची राजमार्गको इलाम नगरपालिका–९ स्थित राजदुवालीमा अविरल वर्षाका कारण सडक अवरुद्ध भएको छ। उक्त स्थानमा भने वैकल्पिक बाटोबाट सवारी सञ्चालनको व्यवस्था गरिएको प्रहरीले जनाएको छ।
बागमती प्रदेशमा बाढी तथा पहिरोको जोखिमका कारण प्रमुख सडकमा समय तोकेर सवारी सञ्चालनमा रोक लगाइएको छ। काभ्रेपलाञ्चोकस्थित बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुञ्जेबेंसी खण्डमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारी सञ्चालनमा रोक लगाइएको छ। दिउँसो भने सडकको अवस्था हेरेर मात्र सवारी साधन सञ्चालन गर्न दिइने गरिएको छ।
त्यस्तै, मकवानपुरको कान्ति लोकपथमा बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा निषेध गरिएको छ। नुवाकोटको टोखा–छहरे सडक खण्डमा पनि सम्भावित जोखिमलाई ध्यानमा राख्दै राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी चलाउन रोक लगाइएको छ। रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा बाढी आएपछि त्रिशूली–मैजुङ–स्याफ्रुबेँसी सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त सडक खुलाउन केही समय लाग्ने प्रहरीको भनाइ छ।
यता, कर्णाली प्रदेशको रुकुम पश्चिमस्थित रिजेगाड खोलामा आएको बाढीले जाजरकोट–डोल्पा सडक खण्ड पूर्ण रूपमा ठप्प भएको छ। वर्षा निरन्तर भइरहेकाले देशका अन्य स्थानमा समेत सडक अवरोध हुनसक्ने जोखिम रहेको प्रहरीले जनाएको छ। त्यसैले लामो दूरीको यात्रा गर्नुअघि नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरी सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न यात्रुहरूलाई आग्रह गरिएको छ।
हेर्नूहोस् सडकको अवस्थाः

.gif)

.png)

