इनाम सापकोटा प्रकरण : सर्वोच्चका न्यायाधीशबीच सहमति जुटेन


२०८३ कार्तिक १३ शुक्रबार १७:४० बजे

​​​​​​काठमाडौं : न्यायपालिका र न्यायाधीशहरूमाथि पछिल्लो समय उठेका प्रश्न तथा विवादबारे साझा धारणा बनाउन बसेको सर्वोच्च अदालतको पूर्ण बैठक निष्कर्षविहीन बनेको छ । प्रधानन्यायाधीशसहित १४ न्यायाधीश सहभागी बैठकमा करिब एक घण्टा छलफल भए पनि कुनै ठोस निर्णय हुन सकेन ।

प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको उपस्थितिमा बसेको बैठकमा सर्वोच्च अदालतका १६ न्यायाधीशमध्ये १४ जना सहभागी थिए । वरिष्ठतम न्यायाधीश सपना मल्ल प्रधान र अब्दुल अजिज मुसलमान विदेशमा रहेकाले बैठकमा उपस्थित हुन सकेनन् ।

बैठकको मुख्य विषय सञ्चारमाध्यममा बिचौलियाका रूपमा चर्चामा आएका इनाम सापकोटासँग प्रधानन्यायाधीश शर्मा र न्यायाधीश हरिप्रसाद फुयाँलको नाम जोडिएपछि उत्पन्न विवाद थियो । यस विषयले न्यायपालिकाको संस्थागत प्रतिष्ठा र न्यायाधीशहरूको भूमिकामाथि प्रश्न उठाएको भन्दै पूर्ण बैठक बोलाइएको थियो ।

छलफलका क्रममा केही न्यायाधीशले प्रकरणबारे आन्तरिक छानबिन समिति गठन गर्नुपर्ने प्रस्ताव राखेका थिए । तर छानबिनको स्वरूप र प्रक्रिया लगायतका विषयमा सहमति जुट्न नसकेको स्रोतले जनाएको छ ।

बैठकमा कुनै निष्कर्ष ननिस्किएपछि सोमबार पुनः छलफल गर्ने गरी न्यायाधीशहरू उठेका छन् । उक्त बैठकमा विदेशमा रहेका न्यायाधीश सपना मल्ल प्रधान र अब्दुल अजिज मुसलमानसमेत सहभागी हुने अपेक्षा गरिएको छ ।

सोमबारको बैठकसम्म यस विषयमा थप निर्णय नगरी प्रतीक्षा गर्ने समझदारी बनेको बताइएको छ । न्यायाधीशहरूको नाम जोडिएको प्रकरणमा सर्वोच्च अदालतले संस्थागत रूपमा कस्तो कदम चाल्छ भन्ने विषय अब सोमबारको बैठकमा हुने छलफलमा निर्भर देखिएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७