वैदेशिक रोजगार ठगीका फरार आरोपीको बैंक खाता रोक्का गरिने
काठमाडौं : वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी हुँदासमेत फरार रहेका आरोपीको बैंक खाता रोक्का गर्ने प्रक्रिया अघि बढाइने भएको छ ।
वैदेशिक रोजगार विभागले ठगीसम्बन्धी मुद्दामा संलग्न भई फरार रहेका व्यक्तिलाई ३५ दिनभित्र विभाग वा नेपाल प्रहरीको सम्पर्कमा आउन सूचना जारी गरेको थियो । गत कात्तिक ९ गते सूचना जारी गर्दै विभागले तोकिएको अवधिभित्र सम्पर्कमा नआए उनीहरूको बैंक खाता रोक्का गर्ने चेतावनी दिएको थियो ।
विभागले फरार आरोपीको यात्रा अनुमति प्रक्रियासमेत रोक्का गर्ने तयारी गरेको छ ।
विभागले जारी गरेको पत्रअनुसार सूचनाको म्यादभित्र उपस्थित नभएका व्यक्तिको विवरण संकलन गरी बैंक खाता रोक्का गर्न नेपाल राष्ट्र बैंकलाई पत्राचार गरिनेछ । यसका लागि आगामी मंसिर १४ गते राष्ट्र बैंकलाई औपचारिक पत्र पठाउने तयारी गरिएको छ ।
विभागले सम्बन्धित शाखालाई फरार व्यक्तिहरूको सूची तयार गरी नेपाल राष्ट्र बैंकमा पठाउने प्रक्रिया अघि बढाउन निर्देशनसमेत दिएको छ ।
.gif)

.png)




