फाइनलमा मुन्सेको विस्फोटक अर्धशतक
काठमाडौं : सुदूरपश्चिम रोयल्सका ओपनर जर्ज मुन्सेले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनलमा लुम्बिनी लायन्सविरुद्ध विस्फोटक अर्धशतक प्रहार गरेका छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार साविक विजेता लुम्बिनीले दिएको १५६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमका लागि मुन्सेले २९ बलमा ५ चौका र ३ छक्काको मद्दतमा ५० रन पूरा गरेका हुन् ।
यस सिजन मुन्सेको यो उत्कृष्ट ब्याटिङ प्रदर्शन हो । यसअघि उनले क्वालिफायर–१ मा खाता खोल्न सकेका थिएनन् भने क्वालिफायर–२ मा ८ रनमै आउट भएका थिए ।
फाइनलमा भने उनले सुरुदेखि नै आक्रामक ब्याटिङ गरे । ६.३ ओभरमा मुन्सेले जीवनदानसमेत पाए । लुम्बिनीका डार्सी सर्टको बलमा चौका प्रहार गर्ने प्रयास गर्दा मुन्सेको क्याच सन्दीप जोराले लिन खोजेका थिए । तर, अन्तिम समयमा उनको हातबाट बल फुत्कियो । त्यसपछि एक रन लिएका मुन्सेलाई डार्सीले रनआउट गर्ने प्रयास गरे पनि सफल भएनन् ।
जीवनदान पाएका मुन्सेले त्यसपछि आक्रामक ब्याटिङलाई निरन्तरता दिँदै सुदूरपश्चिमलाई उपाधि जित्ने अभियानमा बलियो अवस्थामा पुर्याएका छन् ।
.gif)

.png)




