‘जिहाद’का लागि तयार रहनू : प्रचण्ड


२०८३ मङ्सिर ५ शनिबार १२:१३ बजे

काठमाडौं :  नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति सम्झौता, संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रका उपलब्धिमाथि प्रहार गर्ने प्रयास भए आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।

भक्तपुरमा पार्टी जिल्ला समितिले आयोजना गरेको राष्ट्रिय जागरण अभियान उद्घाटन गर्दै उनले शान्ति सम्झौता र संविधानविरुद्ध षड्यन्त्र भइरहेको दाबी गरे। यस्ता प्रयासविरुद्ध फेरि एकपटक आन्दोलनको तयारी गर्नुपर्ने अवस्था आउन सक्ने उनको भनाइ थियो।

‘शान्ति सम्झौता, संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि खेलबाड गर्नेहरूका विरुद्ध जिहाद छेड्नुपर्ने बेला आउँदै छ। राष्ट्रिय जागरण अभियान त्यसको तयारी पनि हो,’ प्रचण्डले भने।

उनले शान्ति सम्झौतालाई युगान्तकारी र दूरगामी महत्त्वको सम्झौताको संज्ञा दिँदै त्यसबाट प्राप्त उपलब्धि कमजोर पार्ने प्रयास भइरहेको आरोप लगाए।

‘प्रतिक्रियावादी र प्रतिक्रान्तिकारी कोणबाट हजारौँ शहीदहरू, हजारौँ बेपत्ता योद्धाहरू, हजारौँ घाइते अपाङ्गहरू र लाखौँ जनताको तपस्याबाट प्राप्त उपलब्धिमाथि प्रहार गर्ने कोसिस भएको छ,’ उनले भने, ‘कतै न कतै फेरि अर्को दुर्घटनातिर देशलाई लैजाने षड्यन्त्रको गन्ध हामीले पाइराखेकै छौँ।’

प्रचण्डले शान्ति सम्झौताको मर्म र संविधानको भावनाअनुसार शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउनुपर्ने बताए। देशलाई सुशासन, सामाजिक न्याय र समृद्धिको नयाँ यात्रामा अघि बढाउने प्रतिबद्धता आवश्यक रहेको उनको भनाइ थियो।

उनले संविधान र गणतन्त्रका उपलब्धिको रक्षाका लागि नयाँ सङ्कल्पसहित एकपटक फेरि आन्दोलित हुनुपर्ने अवस्था आउन सक्ने पनि बताए। राष्ट्रिय जागरण अभियानलाई त्यसैको तयारीका रूपमा अघि बढाउनुपर्ने उनको धारणा थियो।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७