१० अर्बभन्दा बढी रकम हिनामिना आरोपमा बराह सहकारीका अध्यक्ष पक्राउ
काठमाडौं : बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा फरार रहेका धरानस्थित बराह बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शिवकुमार लामिछाने (विश्वकर्मा) पक्राउ परेका छन् ।
लामिछानेलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पक्राउ गरेको सुनसरीका प्रहरी प्रमुख एसपी पुष्पराज मल्लले पुष्टि गरेका छन् ।
गृहमन्त्री सुधन गुरुङले पनि सामाजिक सञ्जालमार्फत बराह सहकारीका मुख्य योजनाकार पक्राउ परेको जानकारी दिँदै यसलाई पूर्वका बचतकर्ताले न्याय पाउने प्रक्रियाको सुरुवात भनेका छन् ।
५ अर्ब ८८ करोड रुपैयाँभन्दा बढी बिगो हिनामिनामा संलग्न मुख्य योजनाकारलाई कानुनी दायरामा ल्याइएको उनले बताएका छन् । बाँकी दोषीको खोजी र कारबाही प्रक्रिया पनि तीव्र पारिने उनले बताएका छन् ।
बराह सहकारीका सञ्चालकले धरानसहित देशभरका ४ हजार ७७२ भन्दा बढी बचतकर्ताको १० अर्ब ७३ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोप छ । बचतकर्ताको रकम फिर्ता गर्न नसकेपछि संस्थाका अध्यक्षसहित सञ्चालक फरार भएका थिए ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले प्रहरी निरीक्षक दिनेश अधिकारीको नेतृत्वमा गरेको अनुसन्धानले १० अर्ब ७३ करोड ४३ लाख ४७ हजार ९१३ रुपैयाँ हिनामिना तथा अपचलन भएको निष्कर्ष निकालेको थियो ।
प्रहरीको अभियोगपत्रअनुसार लामिछानेमाथि मात्रै २ अर्ब ७१ करोड ३१ लाख ६० हजार २४ रुपैयाँ हिनामिना गरेको आरोप छ । सहकारीका मुख्य सञ्चालक मानबहादुर विश्वकर्मा र गंगा कालिकोटेलगायत भने अझै फरार छन् ।
हेर्नूहोस् गृहमन्त्री गुरुङको पोष्टः
.gif)

.png)




