बराह सहकारीको रकम अपचलन : आठ आरोपी कारागार चलान

तीन जनासँग धरौटी माग


२३:५२ बजे

सुनसरी । जिल्ला अदालत सुनसरीले धरानमा मुख्य कार्यालय रहेको बराह बचत तथा ऋण सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका ११ मध्ये आठ जनालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको छ । जिल्ला अदालत सुनसरीका मुख्य न्यायाधीश मुकेश उपाध्यायको इजलासले पक्राउ परेका ११ मध्ये आठ जनालाई पुर्पक्षका लागि कारागार चलानको बिहीबार आदेश दिएको हो । 

बराह सहकारीको पौने ११ अर्ब बचत अपचलन मुद्दामा २६२ जनालाई प्रतिवादी बनाएर ठगी मुद्दामा अनुसन्धान गरिएको थियो । जसमा सञ्चालक मानबहादुर विश्वकर्माकी श्रीमती जतनमाया विश्वकर्मा, गंगाबहादुर विश्वकर्माकी श्रीमती सरिता कालीकोटे विक, अस्मिता भण्डारी, विष्णुकुमारी तुलाधर, रवि पोर्तेल –सुनार, फूलकुमारी भन्ने फूलमाया राई, सुदिन विक, महत क्षेत्री, अपना श्रेष्ठ, रिना राई, विक्रम गजमेर पक्राउ परेका थिए । जतनमाया, सरिता र विष्णुकुमारीको हकमा भने अदालतले जनही पाँच लाख धरौटीमा छाड्ने आदेश दिएको छ ।

सहकारीको १० अर्ब ७३ करोड रुपैयाँभन्दा बढी रकम अपचलन भएको कसुरमा २६२ जना विरुद्ध अदालतमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिल कार्यालय सुनसरीले ऋण लिएर नतिर्ने ऋणीहरूलाई समेत प्रतिवादी बनाएर अभियोगपत्र दायर गरेको हो । सहकारीका सञ्चालक ३५ जनालाई संगठित अपराध निवारण ऐन २०७० र सहकारी ऐन २०७४ बमोजिम कसुरमा मुद्दा दायर भएको हो । 

बाँकी २२२ जनालाई सहकारी ऐन २०७४ बमोजिमको कसुरमा सजाय माग गरिएको अभियोगपत्रमा उल्लेख छ । मुद्दा दर्ता भएका २६२ जनामध्ये २१० जना ऋणीहरूलाई पनि प्रतिवादी बनाइएको छ । प्रहरीको अनुसन्धान प्रतिवेदनमा १० अर्ब ७३ करोड ४३ लाख ४७ हजार ९१३ रुपैयाँ रकम हिनामिना तथा अपचलन गरी ठगी भएको बताइएको छ । 

४,१६८ जना पीडितहरूले प्रहरीमा २८१ वटा जाहेरी दर्ता गराएको र सोही आधारमा अनुसन्धान भएको सुनसरी प्रहरीले जनाएको छ । प्रहरी अनुसन्धानका आधारमा सरकारी वकिलको कार्यालयले दायर गरेको अभियोगमा सर्वसाधारणको बचत तथा सेयर जम्मा गरेको रकम व्यक्तिगत सम्पत्ति खरिद र बराह ग्रुप अफ कम्पनी अन्तर्गतका १४ कम्पनीमा लगानी गरेको जनाइएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७