राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति दिइँदैन : गृहमन्त्री गुरुङ


२०८३ असोज ३० शुक्रबार १६:१८ बजे

काठमाडौं : गृहमन्त्री सुधन गुरुङले राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति नदिइने स्पष्ट पारेका छन्।

७१औँ प्रहरी दिवसका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले सूचनाको संरक्षण र गोपनीयता कायम राख्न जिम्मेवार बन्न प्रहरीलाई निर्देशन दिए।

नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन कानुनमा सुधारको तयारी भइरहेको जानकारी दिँदै गृहमन्त्री गुरुङले प्रहरीलाई उत्प्रेरित गर्ने गरी कानुनमार्फत सेवासुविधा थप गर्न सरकारले पहल गरिरहेको बताए।

उनले अपराधले सीमा नचिन्ने उल्लेख गर्दै अन्तरदेशीय अपराध नियन्त्रण र अनुसन्धान गर्न सक्ने सक्षम निकायका रूपमा नेपाल प्रहरी स्थापित हुनुपर्नेमा जोड दिए।

गृहमन्त्री गुरुङले प्रहरीको बर्दी डर र त्रासको नभई आशा, भरोसा र नागरिक–प्रहरी सहकार्यको प्रतीक बनाउन आग्रह गरे। 

प्रहरी कर्मचारीलाई आफ्नो आचरण र कार्यशैली नागरिकमैत्री बनाउन तथा अपराध नियन्त्रणमा शून्य सहनशीलता अपनाउन उनले निर्देशन दिए।

विपद् उद्धारमा खटिने सुरक्षाकर्मीका लागि जोखिम भत्ता तथा खाजा खर्चको प्रबन्ध भइसकेको जानकारी दिँदै उनले हालै नेपाल प्रहरीको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणमार्फत प्रहरीको दरबन्दी थप गर्न प्रस्ताव गरिएको बताए।

गृहमन्त्री गुरुङले नेपाल प्रहरीलाई समयानुकूल, व्यावसायिक र प्रभावकारी बनाउन कानुनी सुधार अघि बढाइने समेत बताए। प्रहरीको मनोबल बढाउन आवश्यक सेवासुविधा थप गर्ने विषयमा पनि सरकारले पहल गरिरहेको उनको भनाइ थियो।

नयाँ सरकार नयाँ जोस, जाँगर र मानसिकताका साथ जनताको सेवामा जुटेको उल्लेख गर्दै उनले प्रहरीलाई जिम्मेवार र नागरिकप्रति उत्तरदायी भएर काम गर्न आग्रह गरे।

कार्यक्रममा गृहमन्त्री गुरुङलगायत सहभागीले कर्तव्यपालनाका क्रममा ज्यान गुमाएका सम्पूर्ण अमर प्रहरीप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७