एनपीएलमा आज विश्राम : लुम्बिनी शीर्ष स्थानमा
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा आज कुनै खेल हुने छैन । सहभागी टोलीलाई विश्राम दिन प्रतियोगिताको आजको दिन ‘रेस्ट डे’ का रूपमा राखिएको हो ।
मंगलबार पोखरा एभेन्जर्सलाई आठ विकेटले पराजित गरेपछि लुम्बिनी लायन्स अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । त्रिवि क्रिकेट रंगशाला कीर्तिपुरमा पोखराले दिएको ९८ रनको लक्ष्य लुम्बिनीले ११.४ ओभरमा दुई विकेट गुमाएर पूरा गरेको थियो ।
जितसँगै लुम्बिनीले तीन खेलबाट पाँच अंक जोडेको छ । लुम्बिनीले दुई खेल जितेको छ भने एक खेल वर्षाका कारण रद्द भएको थियो ।
लुम्बिनीको जितमा कप्तान रोहितकुमार पौडेलले अविजित ४७ र निरोश डिक्वेलाले अविजित २७ रन बनाए । यी दुईले तेस्रो विकेटका लागि अविजित ७७ रनको साझेदारी गर्दै टोलीलाई सहज जित दिलाए ।
पोखरा भने प्रतियोगितामा लगातार तेस्रो हार व्यहोर्दै अंकविहीन छ । यसअघि पोखरा सुदूरपश्चिम रोयल्ससँग ६ विकेट र जनकपुर बोल्ट्ससँग नौ रनले पराजित भएको थियो। तीन खेलबाट अंक जोड्न नसकेको पोखरा अंकतालिकाको पुछारमा छ ।
हेर्नूहोस् हालसम्म कुन टिमलाई कति अंक ?
| स्थान | टिम | खेल | जित | हार | अंक | नेट रन रेट |
|---|---|---|---|---|---|---|
| १ | लुम्बिनी लायन्स | ३ | २ | ० | ५ | +४.०५१ |
| २ | विराटनगर किङ्स | ४ | २ | २ | ४ | +०.४०८ |
| ३ | कर्णाली याक्स | ३ | २ | १ | ४ | +०.२९५ |
| ४ | जनकपुर बोल्ट्स | ४ | २ | २ | ४ | +०.०९९ |
| ५ | सुदूरपश्चिम रोयल्स | ४ | २ | २ | ४ | -१.०६४ |
| ६ | चितवन राइनोज | ३ | १ | १ | ३ | -०.४८६ |
| ७ | काठमाडौं गोर्खाज | २ | १ | १ | २ | -०.४६६ |
| ८ | पोखरा एभेन्जर्स | ३ | ० | ३ | ० | -१.७७० |
.gif)

.png)




