दुई लाख विद्यार्थीको विवरण दोहोरिएपछि शिक्षा मन्त्रालयले थाल्यो छानबिन
काठमाडौं : विद्यालय शिक्षाको एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (इ–एमआईएस) मा दुई लाखभन्दा बढी विद्यार्थीको विवरण दोहोरिएको पाइएपछि शिक्षा तथा खेलकुद मन्त्रालयले छानबिन अघि बढाएको छ ।
दोहोरो विवरणका आधारमा सरकारी अनुदान तथा विद्यार्थीलाई उपलब्ध गराइने विभिन्न सुविधाको दुरुपयोग भएको हुन सक्ने आशंकामा मन्त्रालयले पाँच सदस्यीय अध्ययन तथा अनुगमन समिति गठन गरेको हो ।
बिहीबार मन्त्रीस्तरीय निर्णयबाट गठित समितिको संयोजकमा मन्त्रालयको खेलकुद तथा विद्यालय शिक्षा महाशाखाका सहसचिव शिवकुमार सापकोटा रहेका छन् ।
समितिका सदस्यमा शिक्षा विभागका निर्देशक भक्तबहादुर गोदार, मन्त्रालयका कम्प्युटर इन्जिनियर विनोद न्यौपाने र कानुन अधिकृत निकिता दाहाल छन् । विद्यालय शिक्षा शाखाका उपसचिव शिवप्रसाद रेग्मी सदस्यसचिव तोकिएका छन् ।
मन्त्रालयको अनौपचारिक अध्ययनमा इ–एमआईएसमा दुई लाखभन्दा बढी विद्यार्थीको विवरण दोहोरिएको पाइएको छ ।
यस्तो विवरणका आधारमा राज्यकोषबाट निकासा हुने अनुदान, छात्रवृत्ति, दिवा खाजा, विद्यालय पोसाक, पाठ्यपुस्तक तथा अन्य सेवा–सुविधाको दुरुपयोग भएको हुन सक्ने आशंका गरिएको छ ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले दोहोरो विवरण राखेर सरकारी रकम दुरुपयोग भएको हुन सक्ने विषयलाई मन्त्रालयले गम्भीर रूपमा लिएको बताए । छानबिनबाट दोषी देखिनेहरूमाथि कारबाही गरिने उनको भनाइ छ ।
समितिले विद्यार्थीको विवरण दोहोरिनुको कारण, प्रणालीमा रहेका प्राविधिक कमजोरी र नियतवश गलत विवरण प्रविष्ट गरिएको हो वा होइन भन्ने विषयमा अध्ययन गर्नेछ ।
गलत तथ्याङ्क पेस गरी राज्यकोषबाट प्राप्त हुने अनुदान तथा अन्य सुविधाको दुरुपयोग भएको पुष्टि भएमा सम्बन्धित विद्यालय, व्यवस्थापक वा जिम्मेवार व्यक्तिमाथि आवश्यक कारबाही गर्न समितिले मन्त्रालयलाई सिफारिस गर्नेछ ।
.gif)

.png)




