तिहारमा मौसमले साथ दिने, ठूलो वर्षाको सम्भावना छैन


२०८३ कार्तिक २० शुक्रबार ०८:३१ बजे
फाइल फोटो

काठमाडौं : तिहार अवधिभर मौसम प्रतिकूल बनाउने उल्लेख्य मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको आंशिक प्रभाव रहे पनि देशभर ठूलो वर्षाको सम्भावना नरहेको महाशाखाको पूर्वानुमान छ ।

हाल देशका हिमाली र पहाडी भूभागमा आंशिक बदली रहेको छ भने तराईका जिल्ला तथा पहाडी उपत्यका र खोँचहरूमा हुस्सु र कुहिरो लागेको छ ।

महाशाखाका अनुसार शुक्रबार दिउँसो हिमाली र पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।

कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना छ ।

शुक्रबार राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा पनि बदली रहने अनुमान छ । 

कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्नेछ ।

शनिबार पनि हिमाली र पहाडी भूभागमा आंशिक बदली रहने तथा तराईमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ ।

शनिबार राति कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागसहित अन्य हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ । यी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान छ ।

आइतबार र सोमबार पनि हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने र तराईमा मौसम मुख्यतया सफा रहनेछ ।

आइतबार हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा र सोमबार हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।

यसैबीच, शुक्रबारदेखि सोमबारसम्म तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानको समयमा केही स्थानमा हुस्सु र कुहिरो लाग्ने सम्भावना छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७