ममता काफ्ले हत्या प्रकरण : श्रीमतीको शव टुक्रा पारेको नरेश भट्टद्वारा स्वीकार
अमेरिका : अमेरिकाको भर्जिनियामा नेपाली मूलकी नर्स ममता काफ्ले भट्टको हत्या तथा बेपत्ता प्रकरणमा अभियुक्त उनका श्रीमान् नरेश भट्टले अदालतसमक्ष शव टुक्रा पारेको स्वीकार गरेका छन् ।
हत्यासम्बन्धी मुद्दाको सुनुवाइका क्रममा बिहीबार बयान दिँदै भट्टले शयनकक्षको भुईँमा श्रीमतीलाई मृत अवस्थामा फेला पारेपछि शव टुक्रा पारेको बताएका हुन् । उनले सन् २०२४ जुलाई ३० को बिहान ममतालाई अचेत अवस्थामा भेटेको दाबी गरेका छन् ।
भट्टका अनुसार ममताको मुख र भुईँमा वान्ता देखिएको थियो । वान्तामा रगत, खानाका टुक्रा, क्याप्सुल र कीटनाशक विषादीका रूपमा प्रयोग हुने ‘सेलफोस’ का अवशेषसमेत रहेको उनले अदालतमा बताए ।
श्रीमतीलाई छामेर हेरेको, बोलाउने प्रयास गरेको र सिपिआरलगायतका जीवनरक्षक उपाय अपनाएको उनको भनाइ छ । तर, त्यसपछि शव टुक्रा पार्ने निर्णय लिएको र सुरुमा शरीरको तल्लो भाग अर्थात् खुट्टा अलग्याउने प्रयास गरेको उनले स्वीकार गरेका छन् ।
उनले शवलाई बाथरुममा लगे पनि शारीरिक रूपमा कमजोर महसुस भएपछि पहिलो दिन काम रोकिएको बताए । त्यसपछि बेबी चेन्जिङ स्टेसनले शयनकक्षको ढोका छेकेर आफू नाबालक छोरीको हेरचाहमा लागेको उनको बयान छ ।
त्यस रात आफू सुत्न नसकेको र डरका कारण पूजा कोठासमेत नगएको उनले अदालतलाई बताएका छन् ।
भट्टविरुद्ध फस्ट डिग्री मर्डर (प्रथम श्रेणीको हत्या), शव लुकाएको र शव क्षतविक्षत पारेको अभियोग लगाइएको छ । यद्यपि, ममता काफ्लेको शव अहिलेसम्म फेला परेको छैन ।
युभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा नर्सका रूपमा कार्यरत ममता काममा उपस्थित नभएपछि प्रहरीले उनको खोजी तथा अनुसन्धान सुरु गरेको थियो । भट्टले सुरुमा श्रीमती बेपत्ता भएको कुरा अस्वीकार गर्दै उनलाई अन्तिम पटक जुलाई २९ मा देखेको बताएका थिए ।
उनले अगस्ट ५, २०२४ मा मात्रै प्रहरीमा श्रीमती बेपत्ता भएको उजुरी दिएका थिए । त्यसक्रममा ममताले आफूलाई छाड्ने धम्की दिएको र सम्बन्धविच्छेदको प्रस्ताव राखेको दाबीसमेत गरेका थिए ।
तर, अनुसन्धानका क्रममा प्रहरीले दम्पतीको शयनकक्ष र बाथरुममा रगतका टाटा फेला पारेको थियो । साथै, कपालका टुक्रा अड्किएको विद्युतीय आरा (पावर स) समेत बरामद गरेको थियो ।
त्यसपछि प्रहरीले अगस्ट २२, २०२४ मा भट्टलाई पक्राउ गरेको थियो । पक्राउ परेयता उनी निरन्तर हिरासतमै छन् ।
.gif)

.png)




