एनपीएलमा आज दुई खेल : विराटनगर–जनकपुर र लुम्बिनी–पोखरा भिड्दै
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ट्स तथा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सको सामना गर्नेछन् ।
आज दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा विराटनगर र जनकपुर आमनेसामने हुनेछन् ।
तीन खेल खेलेको विराटनगरले एकमा जित र दुईमा हार बेहोरेको छ । विराटनगरले सुदूरपश्चिम रोयल्सलाई पराजित गरेको थियो भने चितवन राइनोज र कर्णाली याक्ससँग पराजित भएको थियो ।
यता जनकपुरले तीन खेलमध्ये दुईमा जित र एकमा हार बेहोरेको छ । पहिलो खेलमा कर्णाली याक्ससँग पराजित भएको जनकपुरले त्यसपछि काठमाडौं गोर्खाज र पोखरा एभेन्जर्सलाई हराएको थियो ।
आजै दिउँसो साढे ४ बजे हुने दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स भिड्नेछन् ।
दुई खेल खेलेको लुम्बिनीले एकमा जित निकालेको छ । पहिलो खेलमा सुदूरपश्चिम रोयल्सलाई पराजित गरेको लुम्बिनीको चितवन राइनोजसँगको दोस्रो खेल वर्षाका कारण रद्द भएको थियो । उक्त खेलमा दुवै टोलीले एक–एक अंक बाँडेका थिए ।
पोखरा भने जितको खोजीमा छ । दुवै खेलमा पराजित भएको पोखरा पहिलो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछ । पोखरा पहिलो खेलमा सुदूरपश्चिम र दोस्रो खेलमा जनकपुरसँग पराजित भएको थियो ।
.gif)

.png)




