२३४ खेल, १४६ गोल र अनेक कीर्तिमान : रोनाल्डोले छाडे पोर्चुगलको जर्सी
काठमाडौं : पोर्चुगलका महान् फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय फुटबल टोलीबाट सन्न्यास लिने घोषणा गरेका छन् । यससँगै पोर्चुगलको जर्सीमा उनको २३ वर्ष लामो अन्तर्राष्ट्रिय खेलजीवन अन्त्य हुने भएको छ ।
४१ वर्षीय रोनाल्डोले बिहीबार सामाजिक सञ्जालमा भिडियो सन्देश सार्वजनिक गर्दै आगामी नोभेम्बरको अन्तर्राष्ट्रिय खेल अवधिपछि राष्ट्रिय टोलीबाट बिदा लिने बताएका हुन् ।
‘अब हाम्रो राष्ट्रिय टोलीको सात नम्बरको जर्सी फिर्ता गर्ने समय आएको छ,’ उनले भनेका छन् । यो निर्णय सहज नभएको उल्लेख गर्दै उनले यसमा मन र भावनाको पनि भूमिका रहेको बताएका छन् ।
रोनाल्डोले सन् २००३ को अगस्टमा पोर्चुगलको राष्ट्रिय टोलीबाट खेल्न सुरु गरेका थिए । त्यसयता उनले देशका लागि २३४ खेल खेल्दै १४६ गोल गरेका छन् । पुरुष अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक खेल खेल्ने र सर्वाधिक गोल गर्ने दुवै कीर्तिमान उनकै नाममा छन् ।
उनको कप्तानीमा पोर्चुगलले सन् २०१६ मा पहिलोपटक युरोपेली फुटबल च्याम्पियनसिपको उपाधि जितेको थियो । त्यसैगरी सन् २०१९ र २०२५ मा युइएफए नेसन्स लिगको उपाधि जित्दा पनि रोनाल्डो टोलीका प्रमुख खेलाडी थिए ।
पाँचपटक बालोन डी’ओर जितेका रोनाल्डोले क्लब फुटबलमा पनि असाधारण सफलता हासिल गरेका छन् । म्यानचेस्टर युनाइटेड, रियल म्याड्रिड र युभेन्टसजस्ता युरोपका ठूला क्लबबाट खेलेका उनी अहिले साउदी अरेबियाको अल नासरमा आबद्ध छन् ।
राष्ट्रिय टोलीबाट सन्न्यास लिने घोषणा गरे पनि रोनाल्डोले क्लब फुटबलबाट भने बिदा लिएका छैनन् । त्यसैले उनको व्यावसायिक खेलजीवन तत्काल जारी रहनेछ ।
आफ्नो बिदाइ सन्देशमा रोनाल्डोले पोर्चुगलका समर्थक, सहकर्मी खेलाडी, प्रशिक्षक, परिवार र टोलीसँग जोडिएका सबैलाई धन्यवाद दिएका छन् । राष्ट्रिय टोलीका लागि मैदानमा आफ्नो यात्रा टुंगिए पनि पोर्चुगलको हरेक जितमा आफू खुसी र दुःखमा सहभागी भइरहने उनको भनाइ छ ।
‘मैले जीवनभर विश्वकै उत्कृष्ट खेलाडी बन्न मेहनत गरेँ । तर आज महसुस हुँदैछ, सबैभन्दा ठूलो सफलता विश्वकै उत्कृष्ट देशको प्रतिनिधित्व गर्न पाउनु रहेछ,’ उनले भनेका छन् ।
.gif)

.png)




