सर्वोच्चमा रिट लिएर पुगे कार्की : प्रधानमन्त्री कार्यालयको कार्यकक्षमा गएनन्
काठमाडौं : नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीका लागि सरकारले सिर्जना गरेको ‘विशेष सुरक्षा सल्लाहकार’को पदमा उनी बिहीबार हाजिर भएनन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहनेगरी व्यवस्था गरिएको उक्त पदको नियुक्तिपत्र बुझ्न सिंहदरबार जानुको सट्टा कार्की सरकारको निर्णयविरुद्ध रिट निवेदन लिएर सर्वोच्च अदालत पुगे ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपीबाट हटाएर डा. मनोजकुमार केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो ।
सोही बैठकले कार्कीका लागि नयाँ दरबन्दी सिर्जना गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहनेगरी विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिने निर्णय गरेको थियो ।
तर, कार्की बिहीबार प्रधानमन्त्री कार्यालय गएनन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता हेमराज अर्यालका अनुसार, कार्कीका लागि कार्यालयमा कार्यकक्षको व्यवस्था गरिएको छ ।
प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्रीका सल्लाहकार, सचिव तथा अन्य अधिकारीका लागि कार्यकक्ष व्यवस्थापन गर्न अतिरिक्त कोठा रहेको प्रवक्ता अर्यालले बताए ।
‘यहाँ कार्यालयमा हामीसँग अतिरिक्त कोठा भइ नै हाल्छन् । अतिरिक्त सचिव, सचिवहरू लगायत अरू कामका लागि कार्यकक्ष व्यवस्थापन भएकै हुन्छ,’ उनले भने, ‘त्यसक्रममा सुरक्षा सल्लाहकारका लागि पनि कोठा व्यवस्थापन गरिएको हुनुपर्छ ।’
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार कार्कीका लागि कोठा नम्बर २०७ मा कार्यकक्ष तयार गरिएको छ । उनलाई नेपाल सरकारको सचिवसरहको सुविधा उपलब्ध गराउने व्यवस्था गरिएको स्रोतको भनाइ छ ।
सरकारका सचिवसरह सुविधा पाउने पदमा कार्यकक्षसँगै सवारीसाधन र सुरक्षा व्यवस्था पनि उपलब्ध हुने गर्छ ।
.gif)

.png)




