कांग्रेसको चेतावनी : पार्टीविरुद्धको षड्यन्त्रको भण्डाफोर गर्छौँ
काठमाडौं : नेपाली कांग्रेसले पार्टी नेतृत्व र वैधानिकतामाथि भ्रम सिर्जना गर्ने षड्यन्त्र भइरहेको आरोप लगाउँदै त्यसको सशक्त प्रतिवाद गर्ने निर्णय गरेको छ ।
कांग्रेस सहमहामन्त्री प्रकाश रसाइलीले पार्टी पदाधिकारी तथा संघीय सांसदहरूसँगको बैठकले पार्टीविरुद्ध भइरहेको भनिएको षड्यन्त्रलाई संसद्, संसदीय समिति र आम नागरिकमाझ तथ्यसहित उठाउने निर्णय गरेको जानकारी दिए ।
उनले राज्य संरक्षित तथा राज्य नियन्त्रित व्यक्तिहरूमार्फत नेपाली कांग्रेस र पार्टी नेतृत्वविरुद्ध भ्रम सिर्जना गर्ने प्रयास भइरहेको आरोप लगाए । यस्ता गतिविधिको पार्टीले खुलेर विरोध र प्रतिरोध गर्ने उनको भनाइ छ ।
‘राज्य संरक्षित व्यक्तिहरूमार्फत नेपाली कांग्रेस पार्टी र यसको नेतृत्वविरुद्ध भ्रम तथा षड्यन्त्र सिर्जना गर्ने प्रयास भएको भन्दै पार्टीले त्यसको कडा प्रतिवाद र विरोध गर्ने निर्णय गरेको छ' उनले भने, 'यस विषयलाई प्रतिनिधिसभा, संसदीय समितिहरू तथा आम नागरिकमाझ तथ्यसहित उठाइनेछ ।’
कांग्रेसले संसद् अधिवेशन आह्वानको माग गरिसकेको उल्लेख गर्दै रसाइलीले संसद् र संसदीय समितिमार्फत घटनाको वास्तविकता बाहिर ल्याउने बताए । उनका अनुसार निर्वाचनका बेला पार्टीको अद्यावधिक अवस्था र वैधानिकतासँग सम्बन्धित नरहेका व्यक्तिहरूलाई समेत जोडेर पार्टी नेतृत्वविरुद्ध भ्रम फैलाउने काम भएको बैठकको निष्कर्ष छ ।
राज्यले जुनसुकै प्रकारको छानबिन गर्न चाहे पनि कांग्रेस त्यसबाट पछि नहट्ने उनले स्पष्ट पारे ।
‘नेपाली कांग्रेसले संसद् अधिवेशन आह्वानको माग गरिसकेको छ । संसद् र संसदीय समितिहरूमा यस विषयलाई गम्भीरतापूर्वक उठाउने निर्णय भएको छ । पार्टी कुनै पनि प्रकारको छानबिनबाट पछि नहट्ने स्पष्ट प्रतिबद्धता व्यक्त गर्दछ,’ उनले भने ।
बैठकमा भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकलाई सहयोग गर्ने विषयमा पनि छलफल भएको छ । चाडपर्वको समयमा प्रभावित नागरिकलाई पार्टीका तर्फबाट सक्दो सहयोग गर्ने उद्देश्यले सम्बन्धित क्षेत्रका सांसद तथा जनप्रतिनिधिलाई पार्टी कार्यालयमा बोलाइएको रसाइलीले जानकारी दिए ।
उनका अनुसार यसका लागि २० गते दिउँसो २ बजे प्रभावित क्षेत्रका सांसद तथा जनप्रतिनिधिसँग छलफल गर्ने तय भएको छ ।
.gif)

.png)




