सुरुङ खनेर भागेका ८ मध्ये २ कैदी रुकुम पश्चिममा समातिए
सुर्खेत : डोल्पा जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएका आठ कैदीमध्ये दुई जनालाई प्रहरीले रुकुम पश्चिममा पक्राउ गरेको छ ।
मंगलबार बिहान साढे १० बजे रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ दामाचौरस्थित खोली बगरबाट उनीहरू पक्राउ परेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता सन्तोषसिंह राठौरले जानकारी दिए ।
चौरजहारीस्थित बेस क्याम्प र गोतामकोट प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक बुद्धिराम वलीको कमान्डमा खटिएको पाँच सदस्यीय टोलीले खोजतलासका क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।
डोल्पाको ठूलीभेरी नगरपालिका–३ स्थित जिल्ला कारागारबाट गत कात्तिक १४ गते बिहान ६ बजे आठ जना कैदी सुरुङ खनेर उनीहरू फरार भएका थिए ।
फरार कैदीको खोजी गर्ने क्रममा दामाचौरबाट आठबिसकोट नगरपालिका–९ राडीतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च ०८३१ नम्बरको जिप जाँच गरिएको थियो । जाँचका क्रममा जिपमा सवार उनीहरूले भाग्न खोजेका थिए ।
प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनीहरू कारागारबाट फरार भएका कैदी रहेको पुष्टि भएको प्रवक्ता राठौरले जानकारी दिए ।
पक्राउ पर्नेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१० का ३२ वर्षीय रामबहादुर विक र सल्यानको कुमाख गाउँपालिका–५ का २८ वर्षीय रेशम राना रहेका छन् । दुवै जना जबर्जस्ती करणीसम्बन्धी मुद्दामा कैद भुक्तान गरिरहेका थिए ।
पक्राउ परेका दुवै जनालाई गोतामकोट प्रहरी चौकीमा राखिएको प्रहरीले जनाएको छ । डोल्पा कारागारबाट फरार भएका आठ जनामध्ये अब दुई जना पक्राउ परेका छन् भने बाँकी छ जनाको खोजी भइरहेको छ ।
.gif)

.png)




