काठमाडौं आइपुगे भारतीय राजदूत दलेला, भोलि विदेश सचिव मिश्री आउँदै
काठमाडौं : नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला मंगलबार काठमाडौं आइपुगेका छन् । कार्यभार सम्हाल्न उनी काठमाडौं आइपुगेका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई परराष्ट्र मन्त्रालय र भारतीय राजदूतावासका अधिकारीहरूले स्वागत गरेका थिए । भारतीय विदेश मन्त्रालयले गत असोज अन्तिम साता दलेलालाई नेपालका लागि राजदूत नियुक्त गरेको थियो ।
भारतका विदेश सचिव विक्रम मिश्री बुधबार नेपाल भ्रमणमा आउनुअघि नै दलेला काठमाडौं आइपुगेका हुन् । मिश्रीको भ्रमण प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणको तयारीसँग जोडिएको छ ।
दलेला यसअघि भारतीय विदेश मन्त्रालयमा सचिव (आर्थिक सम्बन्ध) का रूपमा कार्यरत थिए । भारतले नेपालमा विदेश मन्त्रालयको सचिवस्तरमा कार्यरत कूटनीतिज्ञलाई राजदूत नियुक्त गरेको यो सम्भवतः पहिलो पटक हो ।
सन् २०२५ देखि विदेश मन्त्रालयमा आर्थिक सम्बन्ध सचिवका रूपमा कार्यरत दलेलाले यसअघि भुटानका लागि भारतीय राजदूतका रूपमा तीन वर्ष सेवा गरेका थिए । हाल उनको जिम्मेवारीमा भारतको आर्थिक कूटनीति, विकास साझेदारी, ग्लोबल साउथका देशहरूसँगको सम्बन्ध, अफ्रिकासँगको सहकार्य तथा बहुपक्षीय आर्थिक सम्बन्धलगायत विषय छन् ।

सन् १९९३ मा भारतीय विदेश सेवामा प्रवेश गरेका दलेलाको कूटनीतिक करियर इजरायलको तेल अभिभबाट सुरु भएको थियो । उनले ब्रासिलिया, शिकागो, ढाका, जेनेभा, थिम्पु र वासिङ्टन डीसीस्थित भारतीय कूटनीतिक नियोगमा काम गरिसकेका छन् ।
उनले सन् २००९ देखि २०११ सम्म भारतीय प्रधानमन्त्री कार्यालयमा निर्देशकका रूपमा काम गरेका थिए । त्यसअघि सन् २००६ देखि २००७ सम्म विदेश मन्त्रालयको नर्थ डिभिजनमा कार्यरत थिए ।
सन् २०१६ देखि २०१९ सम्म सोही डिभिजनको सहसचिवका रूपमा काम गरेका उनले नेपाल र भुटानसँगको भारतको सम्बन्धलाई नजिकबाट हेरेका थिए ।
दलेलासँग व्यापार तथा आर्थिक नीतिको क्षेत्रमा पनि अनुभव छ । उनले नयाँ दिल्लीस्थित वाणिज्य विभागमा व्यापार नीति निर्देशकका रूपमा काम गर्नुका साथै विश्व व्यापार संगठनमा भारतको स्थायी नियोगमा दुई पटक सेवा गरेका छन् ।
त्यस्तै, अमेरिकामा भारतका महावाणिज्यदूतका रूपमा पनि काम गरेका उनले वासिङ्टन डीसीस्थित भारतीय दूतावासमा सन् २०११ देखि २०१४ सम्म राजनीतिक मामिलासम्बन्धी मन्त्री र सन् २०२० देखि २०२२ सम्म उपप्रमुख (डेपुटी चिफ अफ मिसन) का रूपमा जिम्मेवारी सम्हालेका थिए ।
.gif)

.png)




