पोखरा–मुग्लिन सडक स्तरोन्नति अन्तिम चरणमा
काठमाडौं : पृथ्वी राजमार्गअन्तर्गत पोखरा–मुग्लिन सडक स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ ।
कुल ८१ किलोमिटर लामो सडकको पूर्वी खण्डको निर्माण सम्पन्न भई हस्तान्तरण भइसकेको छ भने पश्चिम खण्डको भौतिक प्रगति ८६ प्रतिशत पुगेको छ ।
आयोजना कार्यालयका अनुसार जामुने–मुग्लिन पूर्वी खण्डको निर्माण पूरा भइसकेको छ । सडक विस्तार तथा स्तरोन्नतिको काम सकिएपछि त्रुटि सच्चाउने अवधि (डिफेक्ट लायबिलिटी पिरियड–डिएलपी) सुरु भएको उक्त खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए ।
डिएलपी सकिएपछि पनि निर्माण कम्पनीले थप पाँच वर्ष सडक मर्मतसम्भार गर्नुपर्नेछ ।
कुल ४१.४५ किलोमिटर लामो पूर्वी खण्डमा दमौली र डुम्रे बजारका करिब दुई किलोमिटर सडक छ लेनमा विस्तार गरिएको छ भने अन्य क्षेत्रमा चार लेन बनाइएको छ ।
यस खण्डमा साना–ठूला गरी १७ वटा पक्की पुल निर्माण भएका छन् । तनहुँको मादी नदीमा बन्ने ‘सिग्नेचर’ पुल भने छुट्टै ठेक्कामार्फत निर्माण भइरहेको छ ।
पाँच दशकअघि निर्माण भएको यो सडक विस्तार तथा स्तरोन्नतिको काम २०७८ वैशाखदेखि सुरु भएको थियो । पूर्वी खण्ड निर्माणको जिम्मा चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले ६ अर्ब २१ करोड ३१ लाख रुपैयाँमा पाएको थियो ।
यता, पोखरा–जामुने पश्चिम खण्डको काम आगामी मङ्सिरभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । पश्चिम खण्डका प्रमुख इन्जिनियर कृष्णबहादुर कुँवरका अनुसार करिब पाँच किलोमिटर सर्भिस लेन कालोपत्र गर्न बाँकी छ । सडकमा रोड मार्किङ, ट्राफिक संकेत राख्ने तथा सडक सुरक्षासम्बन्धी काम पनि भइरहेको छ ।
पोखरा महानगरपालिका–१० स्थित अमरसिंहचोकदेखि सेती पुलसम्म, तालचोक र बूढीबजार क्षेत्रमा सर्भिस लेन कालोपत्रको तयारी भइरहेको छ । निर्माण सम्पन्न भएपछि यस खण्डमा पनि एक वर्ष डिएलपी लागू हुनेछ । त्यसपछि थप पाँच वर्षसम्म सडक मर्मतको जिम्मेवारी निर्माण कम्पनीकै रहनेछ ।
कुल ३८.८८ किलोमिटर लामो पश्चिम खण्डमा १८.५ किलोमिटर सडक छ लेन र बाँकी चार लेनमा निर्माण गरिएको छ । सहरी क्षेत्र बढी भएकाले छ लेन सडक विस्तार गरिएको इन्जिनियर कुँवरले बताए ।
तनहुँतर्फ दुलेगौँडा र खैरेनीटारमा पनि छ लेन सडक बनाइएको छ । यस खण्डका १३ पुलमध्ये १२ वटा निर्माण सम्पन्न भएका छन् । पोखराको सेती नदीमा बन्ने ‘सिग्नेचर’ पुल भने छुट्टै ठेक्कामार्फत निर्माणाधीन छ ।
जामुनेदेखि पोखरासम्मको पश्चिम खण्ड निर्माणका लागि २०७८ जेठ २ गते सम्झौता भएको थियो भने सोही वर्ष भदौ १२ गतेदेखि काम सुरु गरिएको थियो । चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एण्ड ब्रिज कन्स्ट्रक्सनले सात अर्ब ४० करोड ४६ लाख रुपैयाँमा ठेक्का पाएको थियो ।
एसियाली विकास बैंकको ऋण सहयोगमा निर्माण भइरहेको यो सडक गण्डकी प्रदेशको प्रमुख यातायात मार्ग हो । स्तरोन्नतिपछि काठमाडौं, चितवनलगायत क्षेत्रबाट पोखरा आवतजावत सहज बनेको छ ।
निर्माणका क्रममा धुलो र हिलोको सास्ती खेपेका यात्रुले अहिले फराकिलो सडकमा यात्रा गर्न पाएका छन् ।
सडक विस्तारसँगै पोखराका अमरसिंहचोक, अर्घौंचोक, बुद्धचोक र तालचोकलगायतका साँघुरा चोक पनि फराकिला बनेका छन् । मापदण्डविपरीतका संरचना हटाएर चोक तथा सडक चौडा बनाइएकाले सहरी क्षेत्रको आवागमनसमेत सहज भएको छ ।
सडक स्तरोन्नतिले गण्डकी प्रदेशको आर्थिक तथा पर्यटकीय गतिविधिमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।
.gif)

.png)




