सानीआमाको ज्यान लिएर १६ वर्ष भारतमा लुके, अन्ततः पक्राउ


२०८३ कार्तिक १७ मंगलबार १४:२९ बजे

काठमाडौं : कैलालीका ५८ वर्षीय प्रेमबहादुर शाही १६ वर्षअघि आफ्नै सानीआमाको हत्या गरेर फरार भए । पक्राउ पर्ने डरले अस्पतालबाटै भागेका उनी नेपालका विभिन्न ठाउँ हुँदै भारत पुगे । 

भारतका सहरहरूमा लुक्दै र व्यापार व्यवसाय गर्दै १६ वर्ष बिताएका शाही अन्ततः प्रहरीको फन्दामा परेका छन् । क्षणिक आवेशमा ढुंगा प्रहार गर्दा ६५ वर्षीया सानीआमा सुनरूपाको ज्यान गएपछि शाहीको फरार जीवन सुरु भएको थियो । यो घटना २०६७ पुस २८ गतेको हो ।

साविक दोदोधरा गाउँ विकास समिति–७ कट्टिपुर (हाल बर्दगोरिया गाउँपालिका–१) का शाहीले घरायसी विवादका क्रममा सानीआमा सुनरूपामाथि ढुंगा प्रहार गरेका थिए । 

ढुंगा लागेर भुइँमा ढलेकी उनलाई शाही आफैँले उपचारका लागि नेपालगञ्जस्थित नर्सिङ होम पुर्‍याएका थिए । तर, उपचारकै क्रममा पुस २९ गते सुनरूपाको मृत्यु भयो ।

सुनरूपाको मृत्यु भएपछि प्रहरीले शाहीको खोजी सुरु गर्‍यो । पक्राउ पर्ने डरले उनी अस्पतालबाटै फरार भए । त्यसपछि नेपालका विभिन्न ठाउँ हुँदै भारत पुगे ।

सुरुमा उनी बारा जिल्लाको सिमरामा केही समय लुकेर बसे । प्रहरीले खोजी गरिरहेको जानकारी पाएपछि नेपाल छाडेर भारततर्फ लागे । भारत पुगेपछि दिल्लीमा बस्न थालेका उनी त्यहाँबाट देहरादुन र हिमाचल प्रदेश हुँदै उत्तर प्रदेशको मेरठ पुगे । अन्ततः मेरठमै व्यापार व्यवसाय गरेर बस्न थाले ।

नेपालबाट फरार भएपनि उनी परिवारसँग भने सम्पर्कविहीन भएका थिएनन् । विवाहित शाहीले श्रीमती र बालबच्चालाई नेपालमै छाडेका थिए । उनी १६ वर्षदेखि घर नफर्किए पनि परिवारका सदस्यसँग सम्पर्कमा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

लामो समयदेखि फरार रहेका शाही भारतको मेरठमा व्यापार गरेर बसिरहेको सूचना पाएपछि प्रहरीले उनको खोजी तीव्र बनाएको थियो । जिल्ला प्रहरी कार्यालय कैलालीले उनलाई कञ्चनपुरको गड्डाचौकीबाट पक्राउ गरिएको जनाएको छ । 

तर, स्रोतका अनुसार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय कैलालीको संयुक्त टोली भारतको मेरठमै पुगेर उनलाई पक्राउ गरी नेपाल ल्याएको हो ।

प्रहरीका अनुसार पक्राउ परेपछि अनुसन्धानका क्रममा शाहीले १६ वर्षअघिको घटनामा आफूले आवेशमा आएर ढुंगा प्रहार गरेको स्वीकार गरेका छन् । तर, सुनरूपाको हत्या गर्ने आफ्नो उद्देश्य नरहेको उनको दाबी छ ।

प्रारम्भिक बयानमा उनले प्रहरीलाई भनेका छन्, ‘रिस थाम्न सकिनँ । नजिकै ढुंगा थियो, सानीआमालाई हानेको टाउकोमै लागेछ । अस्पताल पनि लगेँ र उपचारका क्रममा मृत्यु भयो । डर लाग्यो, अनि भागेँ ।’

कैलाली प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार शाहीलाई कर्तव्य ज्यानसम्बन्धी मुद्दामा हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कैलालीबाट पाँच दिनको म्याद लिइएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७