चाडपर्वमा हुने अपराधदेखि अनलाइन बेटिङ नियन्त्रण गर्न आईजीपीको निर्देशन


२०८३ कार्तिक ११ बुधबार १७:३६ बजे

काठमाडौं : प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले चाडपर्वका बेला हुन सक्ने चोरी, लुटपाट, तस्करी तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न विशेष सुरक्षा योजना लागू गरी प्रहरी परिचालन प्रभावकारी बनाउन निर्देशन दिएका छन्।

नेपाल प्रहरी प्रधान कार्यालयबाट बुधबार भर्चुअल माध्यममार्फत प्रहरी कर्मचारीलाई निर्देशन दिँदै उनले दीपावली, नेपाल संवत् र छठलगायतका पर्वमा शान्ति सुरक्षा कायम गर्न थप सक्रिय हुन आग्रह गरे।

आईजीपी कार्कीले नागरिकका गुनासो उचित रूपमा सम्बोधन गर्दै प्रहरी सेवालाई प्रभावकारी, व्यावसायिक र उत्तरदायी बनाउनुपर्ने बताए। 

समाजमा देखिने जुनसुकै चुनौतीको सामना गर्दै नागरिकको सेवामा पूर्ण रूपमा समर्पित भएर काम गर्न उनले प्रहरी कर्मचारीलाई निर्देशन दिए।

चाडपर्वमा सवारी दुर्घटना न्यूनीकरण गर्न सवारीसाधनको यान्त्रिक जाँच, मादक पदार्थ तथा लागूऔषध सेवन गरी सवारी चलाउने गतिविधि नियन्त्रण र क्षमताभन्दा बढी यात्रु तथा सामान बोक्ने कार्यमा कडाइ गर्न उनले निर्देशन दिएका छन्। 

यात्रुको सहज र सुरक्षित आवागमनका लागि सरोकारवाला निकायसँग समन्वय गर्न तथा ट्राफिक नियम उल्लङ्घन गर्नेलाई कारबाहीसँगै सचेतनामूलक सन्देश प्रवाह गर्न पनि उनले जोड दिए।

सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि तथा तस्करी नियन्त्रण र फरार प्रतिवादी पक्राउलाई प्राथमिकतामा राख्न निर्देशन दिँदै उनले सूचना सङ्कलन र विश्लेषणका आधारमा प्रहरी परिचालन प्रभावकारी बनाउनुपर्ने बताए। 

जुवातास, पटका तथा विस्फोटक पदार्थको अवैध कारोबार र सामाजिक सद्भावमा खलल पुर्‍याउने गतिविधि नियन्त्रणमा पनि प्रहरी सक्रिय हुनुपर्ने उनको भनाइ थियो।

एनपीएलमा अनलाइन बेटिङ नियन्त्रण गर्न निर्देशन

आईजीपी कार्कीले काठमाडौंमा सञ्चालन भइरहेको नेपाल प्रिमियर लिग (एनपीएल) को सुरक्षा व्यवस्थापनमा कुनै त्रुटि हुन नदिन आईजीपी कार्कीले निर्देशन दिए। 

प्रतियोगिताका क्रममा हुन सक्ने अनलाइन बेटिङलगायतका गतिविधि नियन्त्रण गर्न उपलब्ध प्रविधिको अधिकतम प्रयोग गरी संलग्नलाई कानुनी दायरामा ल्याउन उनले आग्रह गरेका हुन्।

त्यस्तै, बिहीबारदेखि देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी तथा भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै सम्भावित जोखिम क्षेत्र पहिचान गरी पूर्वतयारीसहित प्रहरी परिचालन गर्न उनले निर्देशन दिएका छन्। 

विभिन्न स्थानका होल्डिङ सेन्टरमा रहेका महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमाथि हुन सक्ने आपराधिक गतिविधि नियन्त्रणमा समेत संवेदनशील हुन उनले आग्रह गरे।

प्रहरी महानिरीक्षक कार्कीले प्रहरी कर्मचारीलाई व्यावसायिक मर्यादा र अनुशासन पूर्ण रूपमा पालना गर्न तथा सामाजिक सञ्जाल प्रयोग गर्दा संवेदनशील हुन निर्देशन समेत दिएका छन्। 

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर संगठनको उद्देश्य प्राप्तिका लागि सामूहिक भावनासहित काम गर्नुपर्ने बताउँदै उनले गैरव्यावसायिक गतिविधिमा संलग्न प्रहरी कर्मचारीलाई कानुनी दायरामा ल्याइने स्पष्ट पारे।

प्रदेश प्रहरी प्रमुख र जिल्ला प्रहरी प्रमुखलाई आ–आफ्नो कार्यक्षेत्रको नियमित अनुगमन, निरीक्षण तथा सुपरीवेक्षण गरी कमजोरी समयमै सुधार गर्न पनि उनले निर्देशन दिएका छन्। 

मातहतका प्रहरी कर्मचारीको मनोबल उच्च राख्दै कार्यसम्पादन सुधारका लागि नवीन कार्ययोजना ल्याउनसमेत उनले आग्रह गरे।

कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशीलसिंह राठौर तथा सातवटै प्रदेश प्रहरी कार्यालयका प्रमुखले आ–आफ्नो क्षेत्रको शान्ति सुरक्षा अवस्थाबारे जानकारी गराएका थिए। 

कार्यक्रममा नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेसहित विभिन्न प्रहरी कार्यालय, तालिम केन्द्र, गण तथा मातहतका इकाइका प्रमुख र प्रतिनिधि भर्चुअल माध्यमबाट सहभागी थिए।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७