चरित्रहत्याविरुद्ध प्रहरीको ‘अपरेसन डिजिटल अनर’
महिला र नाबालिकालाई अनलाइन धम्की दिने नौ जना पक्राउ
काठमाडौं : सामाजिक सञ्जालको दुरुपयोग गरी महिला तथा नाबालिकामाथि अश्लील सामग्री पठाउने, धम्की दिने, ब्ल्याकमेलिङ गर्ने र चरित्रहत्या गर्ने नौ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दुई जना नाबालकसमेत छन्।
नेपाल प्रहरी प्रधान कार्यालयको विशेष सक्रियतामा साइबर ब्युरो तथा विभिन्न प्रहरी कार्यालयको समन्वयमा सञ्चालन भइरहेको ‘अपरेसन डिजिटल अनर’ अन्तर्गत पछिल्लो २४ घण्टामा उनीहरू पक्राउ परेका हुन्।
प्रहरीका अनुसार मङ्सिर ९ गते छ जना र मङ्सिर १० गते तीन जना पक्राउ परेका हुन्। उनीहरूले नक्कली सामाजिक सञ्जाल खाता बनाएर अश्लील तस्बिर तथा भिडियो पठाउने, पूर्वप्रेम सम्बन्ध टुटेपछि व्यक्तिगत सामग्री सार्वजनिक गर्ने, अश्लील गालीगलौज गर्ने र धम्की दिएर रकम असुल्न खोज्ने गरेको आरोप छ।
पक्राउ पर्नेमा काठमाडौं टोखाका २६ वर्षीय आशिष तामाङ, ललितपुरका ३७ वर्षीय रोहित विक्रम राणा, भारतको बिहार घर भई काठमाडौं बस्ने ३२ वर्षीय महमद फेसल एजाज, इलामका ३७ वर्षीय विमल दर्जी खत्री, म्याग्दीका ५६ वर्षीय दिलबहादुर मगर र उदयपुरका २५ वर्षीय सुवास कार्की छन्।
त्यस्तै, सुर्खेतका ३२ वर्षीय चिरञ्जीवी सापकोटा र पोखराबाट पक्राउ परेका १५ तथा १६ वर्षका दुई बालक पनि कारबाहीको दायरामा आएका छन्।
प्रहरीका अनुसार तामाङले नक्कली फेसबुक खाताबाट नाबालिकाका आफन्त तथा साथीहरूलाई अश्लील सामग्री पठाएका थिए। राणाले इमोमार्फत युवतीलाई अश्लील तथा अपमानजनक सन्देश पठाएको र एजाजले पूर्वप्रेमिकाका तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोप छ।
त्यस्तै, खत्रीले नक्कली टिकटक खातामार्फत गोप्य तस्बिर तथा भिडियो प्रसारण गरेको, मगरले फेसबुकमा अश्लील गालीगलौज गरेको र कार्कीले नक्कली खाता बनाएर अश्लील सामग्री पठाउँदै ब्ल्याकमेलिङ गरेको प्रहरीको भनाइ छ।
सापकोटामाथि ह्वाट्सएपमार्फत महिलालाई अश्लील गालीगलौज गरी चरित्रहत्या गरेको आरोप छ। पोखराबाट पक्राउ परेका दुई बालकमाथि पीडितको सामाजिक सञ्जाल खाता ह्याक गरी अश्लील तस्बिर तथा भिडियो सार्वजनिक गरिदिने धम्की दिँदै रकम मागेको आरोप लागेको छ।
पक्राउ परेका सबैमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक एवं प्रवक्ता दीपकराज अवस्थीले जानकारी दिएका छन्।
प्रहरीले सामाजिक सञ्जालमा हुने दुर्व्यवहार, धम्की, व्यक्तिगत तस्बिर तथा भिडियोको दुरुपयोग र चरित्रहत्याका घटनाविरुद्ध अभियानलाई निरन्तरता दिने जनाएको छ। यस्ता घटनाबाट पीडित भएकालाई नजिकको प्रहरी कार्यालय वा साइबर ब्युरोमा उजुरी दिन पनि प्रहरीले आग्रह गरेको छ।
.gif)

.png)




