विश्व भोकमरी सूचकांकमा नेपाल ७२औँ स्थानमा, अवस्था मध्यम


२०८३ कार्तिक ९ आइतबार ०८:३३ बजे
फाइल फोटो

काठमाडौं : विश्व भोकमरी सूचकांक (जीएचआई) २०२६ मा नेपाल १२२ देशमध्ये ७२औँ स्थानमा रहेको छ। 

प्रतिवेदनले नेपालमा भोकमरीको अवस्था मध्यम श्रेणीमा रहेको देखाउँदै पछिल्ला वर्षमा पोषण तथा खाद्य सुरक्षाका क्षेत्रमा सुधार भएको संकेत गरेको छ।

प्रतिवेदनअनुसार नेपालले १०० पूर्णांकमा १४.५ अंक प्राप्त गरेको छ। सन् २०१८ मा नेपालको अंक १८.४ थियो। 

भोकमरी सूचकांकमा कम अंकले तुलनात्मक रूपमा राम्रो अवस्था जनाउने भएकाले नेपालको अंकमा आएको गिरावटले समग्र अवस्थामा सुधार भएको संकेत गर्छ।

दक्षिण एसियाली मुलुकसँग तुलना गर्दा नेपाल केही देशभन्दा राम्रो अवस्थामा देखिएको छ। श्रीलंका १०.२ अंकसहित ५३औँ स्थानमा छ। 

त्यस्तै, बंगलादेश १९.२ अंकसहित ८४औँ, भारत २४.१ अंकसहित १००औँ र पाकिस्तान २५.५ अंकसहित १०६औँ स्थानमा रहेका छन्। अफगानिस्तान भने १०८औँ स्थानमा रहेको प्रतिवेदनमा उल्लेख छ।

दक्षिण एसियाको औसत भोकमरी सूचकांक २३.५ छ, जुन विश्वको औसत १८.१ भन्दा बढी हो। यसले दक्षिण एसियामा भोकमरी, कुपोषण र खाद्य सुरक्षासम्बन्धी समस्या अझै चुनौतीका रूपमा रहेको देखाउँछ।

विश्व भोकमरी सूचकांकमा देशको अवस्था मूल्यांकन गर्न चार प्रमुख सूचकलाई आधार मानिन्छ। 

यसमा अपर्याप्त क्यालोरी उपभोग गर्ने जनसंख्याको अनुपात, पाँच वर्षमुनिका बालबालिकामा उमेरअनुसार उचाइ कम हुने समस्या (पुड्कोपन), उचाइअनुसार तौल कम हुने समस्या (ख्याउटेपन) र पाँच वर्ष उमेर नपुग्दै हुने बालमृत्यु दर समावेश छन्।

यी सूचकका आधारमा देशमा भोकमरी र कुपोषणको अवस्था मूल्यांकन गरिन्छ। 

सूचकांकमा अंक घट्नुले समग्र अवस्था सुधारिएको संकेत गरे पनि यसले सबै क्षेत्रमा खाद्य सुरक्षा सुनिश्चित भएको अर्थ भने दिँदैन।

नेपालको पछिल्लो नतिजाले सुधारको संकेत गरे पनि पोषण र खाद्य सुरक्षामा थप प्रगति आवश्यक रहेको देखाउँछ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७