भारतमा शक्तिशाली चक्रवाती आँधीको खतरा, नेपालमा पनि सतर्क रहन मौसम विभागको आग्रह


२०८३ कार्तिक ८ शनिबार ०७:३४ बजे

काठमाडौं :  बंगालको खाडीमा विकसित न्यूनचापीय क्षेत्र चक्रवाती आँधीमा परिणत हुने सम्भावना देखिएसँगै नेपालमा पनि त्यसको प्रभाव पर्न सक्ने भएको छ। नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले कात्तिक ११ देखि १५ गतेसम्म नेपालको मौसम प्रभावित हुन सक्ने जनाएको छ।

महाशाखाका अनुसार पूर्वमध्य तथा आसपासको दक्षिणपूर्वी बंगालको खाडीमा न्यूनचापीय क्षेत्र विकास भएको छ। मौसमका नमुना तथा भूउपग्रहबाट प्राप्त तस्बिर र तथ्यांक विश्लेषण गर्दा उक्त प्रणाली क्रमशः बलियो हुँदै चक्रवाती आँधीमा परिणत हुन सक्ने देखिएको हो।

महाशाखाले शुक्रबार साँझ जारी गरेको विशेष मौसमी सूचनाअनुसार उक्त प्रणाली पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्दै भारतको उत्तरी आन्ध्र प्रदेश तथा दक्षिणी ओडिसाको तटीय क्षेत्रबाट जमिनमा प्रवेश गर्ने सम्भावना छ।

यस मौसम प्रणालीका कारण कात्तिक ११ गते बुधबारदेखि कात्तिक १५ गते आइतबारसम्म नेपालको मौसममा प्रभाव पर्न सक्ने महाशाखाले जनाएको छ। तर, नेपालमा कति वर्षा हुन्छ, कुन क्षेत्रमा बढी प्रभाव पर्छ र जोखिमको स्तर कस्तो हुन्छ भन्नेबारे अहिले नै यकिन गर्न नसकिने स्पष्ट पारेको छ।

सम्भावित प्रतिकूल मौसमले कृषि तथा पर्यटन क्षेत्रमा असर पार्न सक्ने भएकाले सम्बन्धित सबैलाई सतर्क रहन महाशाखाले आग्रह गरेको छ। विशेषगरी मौसममा हुन सक्ने परिवर्तनलाई ध्यानमा राख्दै आवश्यक सावधानी अपनाउनुपर्ने देखिएको छ।

महाशाखाले उक्त मौसम प्रणालीको निरन्तर अनुगमन गरिरहेको जनाएको छ। प्रणालीको अवस्था र नेपालमा पर्न सक्ने प्रभावबारे थप विवरण प्राप्त भएपछि आवश्यकताअनुसार सूचना अद्यावधिक गरिने पनि महाशाखाले स्पष्ट पारेको छ।

मौसमको अवस्था र सम्भावित जोखिमबारे जानकारी लिन मौसम विज्ञान विभागबाट जारी हुने आधिकारिक सूचनाहरू नियमित रूपमा हेर्न महाशाखाले सर्वसाधारणलाई अनुरोध गरेको छ।

विभागको सूचना :-

मौसम मोडल तथा भू-उपग्रहबाट प्राप्त तस्बिर र तथ्यांक विश्लेषणको आधारमा आज बिहान ५:४५ बजे पूर्वमध्य तथा आसपासको दक्षिणपूर्वी बंगालको खाडीमा न्यूनचापीय क्षेत्र (Low Pressure Area) विकसित भएको र उक्त न्यूनचापीय क्षेत्र क्रमशः बलियो हुँदै कार्तिक ९ गते (अक्टोबर २६) सोमबार चक्रवात आँधी (Cyclonic Storm) मा विकसित भई पश्चिम-उत्तरपश्चिम दिशातर्फ सर्दै भारतको उत्तर आन्ध्र प्रदेश तथा आसपासको दक्षिण ओडिसा तटबाट जमिनको भूभागमा प्रवेश गर्ने सम्भावना रहेको छ।

उक्त मौसम प्रणालीका कारण आगामी कार्तिक ११ (अक्टोबर २८) गते (बुधबार) देखि कार्तिक १५ (नोभेम्बर ०१) गते (आइतबार) सम्म नेपालको मौसम प्रभावित हुन सक्ने देखिन्छ। यद्यपि यस प्रणालीका कारण नेपालमा हुन सक्ने वर्षाको मात्रा, जोखिमको स्तर तथा सम्भावित असरबारे अहिले नै यकिन गर्न सकिने अवस्था छैन। तथापि सम्भावित प्रतिकूल मौसमका कारण कृषि तथा पर्यटन क्षेत्रमा असर पर्न सक्ने भएकाले सम्बन्धित सबैलाई सतर्क रहन अनुरोध गरिन्छ।

नेपाल मौसम विज्ञान विभागले उक्त मौसम प्रणालीको निरन्तर अनुगमन गरिरहेको छ र आवश्यकताअनुसार थप सूचना अद्यावधिक गर्दै जानेछ। मौसमसम्बन्धी आधिकारिक तथा अद्यावधिक जानकारीका लागि यस विभागबाट जारी हुने सूचनाहरू नियमित रूपमा हेर्नुहुन अनुरोध छ। 

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७