असोजमा भारततर्फ झन्डै ६ अर्बको बिजुली निर्यात, बंगलादेशतर्फ पनि सुरु
काठमाडौं : नेपालले चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत निर्यात गरेको छ।
बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन प्रभावित भए पनि गत वर्षको असोज र चालु आवको भदौको तुलनामा विद्युत निर्यातबाट भएको आम्दानी बढेको हो।
यसैबीच, भारतको प्रसारण प्रणाली प्रयोग गरी बंगलादेशतर्फ हुँदै आएको ४० मेगावाट विद्युत निर्यात पनि पुनः सुरु भएको छ।
भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण प्रभावित विद्युत आयोजनामा क्षति पुगेपछि रोकिएको निर्यात वैकल्पिक आयोजनाबाट उत्पादित विद्युत प्रयोग गरी सुरु गरिएको हो।
नेपाल विद्युत प्राधिकरणको विद्युत प्रणाली सञ्चालन विभागको तथ्याङ्कअनुसार असोजमा भारततर्फ ६३ करोड ३९ लाख ८६ हजार ८ युनिट विद्युत निर्यात भएको छ।
त्यसबाट ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको प्राधिकरणले जनाएको छ।
भारततर्फ विद्युत निर्यात द्विपक्षीय बिक्री सम्झौता र भारतीय ऊर्जा विनिमय बजार (आईएक्स) मार्फत हुँदै आएको छ।
द्विपक्षीय सम्झौताअनुसार भारतको हरियाणा र बिहार राज्यमा विद्युत बिक्री गरिन्छ भने बाँकी विद्युत डे-अहेड तथा रियल टाइम बजारमा प्रतिस्पर्धी दरमा बिक्री हुँदै आएको छ।
गत वर्षको असोजमा भारततर्फ विद्युत बिक्रीबाट ४ अर्ब ९६ करोड ३० लाख रुपैयाँ आम्दानी भएको थियो। चालु आवको भदौमा भने यस्तो कारोबार ५ अर्ब ९ करोड २५ लाख रुपैयाँ थियो।
यस वर्षको असोजमा गत वर्षको सोही महिनाको तुलनामा विद्युत निर्यात कारोबार ९६ करोड २० लाख रुपैयाँले बढेको छ।
भदौको तुलनामा पनि असोजमा ८३ करोड २५ लाख रुपैयाँ बढीको विद्युत बिक्री भएको छ।
चालु आवको पहिलो तीन महिना साउन, भदौ र असोजमा नेपालले विद्युत निर्यातबाट कुल १६ अर्ब १५ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार गरेको छ।
बाढीका कारण निर्यातका लागि स्वीकृति पाएका केही जलविद्युत आयोजनाको उत्पादन बन्द भए पनि असोजमा निर्यात कारोबार बढेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले जानकारी दिए।
उनले अनुसार असोजमा भारततर्फ निर्यात भएको कुल विद्युतमध्ये करिब दुई तिहाइ द्विपक्षीय सम्झौताअनुसार र बाँकी भारतीय ऊर्जा विनिमय बजारमार्फत बिक्री गरिएको बताए।
बंगलादेशतर्फ ४० मेगावाट विद्युत निर्यात पुनः सुरु
नेपालबाट भारतको प्रसारण संरचना प्रयोग गरी बंगलादेशतर्फ हुँदै आएको ४० मेगावाट विद्युत निर्यात कात्तिक ६ गते शुक्रबार साँझदेखि पुनः सुरु भएको छ।
भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको हिमबाढीपछि त्रिशूली नदीमा आएको बाढीले बंगलादेश निर्यातका लागि स्वीकृति प्राप्त त्रिशूली र चिलिमे जलविद्युत केन्द्रमा क्षति पुर्याएको थियो।
त्यसपछि बंगलादेशतर्फको विद्युत निर्यात रोकिएको थियो। बाढीका कारण हरियाणातर्फको निर्यातसमेत आंशिक रूपमा प्रभावित भएको थियो।
कार्यकारी निर्देशक श्रेष्ठका अनुसार भारतको केन्द्रीय विद्युत प्राधिकरणबाट अन्य जलविद्युत केन्द्रमा उत्पादित विद्युत बंगलादेशतर्फ निर्यात गर्न स्वीकृति प्राप्त भएपछि निर्यात पुनः सुरु गरिएको हो।
नयाँ व्यवस्थाअनुसार त्रिशूली, देवीघाट र चिलिमे जलविद्युत केन्द्रको सट्टा सोलु, काबेली–१ र तल्लो मोदी जलविद्युत केन्द्रबाट उत्पादित विद्युत बंगलादेश तथा हरियाणातर्फ निर्यात गर्न अनुमति प्राप्त भएको छ।
बाढीबाट प्रभावित आयोजनाको उत्पादन तथा प्रसारण संरचनामा क्षति पुगे पनि वैकल्पिक आयोजनाबाट विद्युत निर्यातलाई निरन्तरता दिन सक्नु र बंगलादेशतर्फको निर्यात पुनः सुरु हुनु क्षेत्रीय विद्युत व्यापारका लागि महत्त्वपूर्ण उपलब्धि भएको श्रेष्ठले बताए।
यसले वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युतको बजार व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
नेपाल विद्युत प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्डबीच २०८१ असोज १७ गते वर्षायामको विद्युत निर्यातसम्बन्धी पाँचवर्षीय सम्झौता भएको थियो।
सम्झौताअनुसार प्रत्येक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्म दैनिक ४० मेगावाट विद्युत बंगलादेश निर्यात गरिँदै आएको छ।
विद्युत निर्यात क्षमता १ हजार १७९ मेगावाट पुग्यो
यसैबीच, भारतको केन्द्रीय विद्युत प्राधिकरणबाट थप ३१ मेगावाट विद्युत निर्यात गर्न अनुमति प्राप्त भएको छ।
नयाँ अनुमतिसँगै भारततर्फ निर्यातका लागि स्वीकृति प्राप्त कुल विद्युत क्षमता करिब १ हजार १७९ मेगावाट पुगेको छ।
नेपालले वर्षायाममा आन्तरिक मागभन्दा बढी उत्पादन हुने विद्युत भारत र बंगलादेशमा बिक्री गर्दै आएको छ।
निर्यात क्षमता विस्तार र वैकल्पिक आयोजनाबाट विद्युत बिक्रीलाई निरन्तरता दिन सक्दा नेपालको विद्युत व्यापार तथा क्षेत्रीय बजारमा पहुँच बढ्ने अपेक्षा गरिएको छ।
.gif)

.png)



