कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी विजयी, महामन्त्रीमा पौडेल, राणा र संग्रौला विजयी

प्रदीप पौडेल सर्वाधिक मतसहित महामन्त्री


२०८३ असोज २६ सोमबार ००:२२ बजे

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट उपसभापति र महामन्त्री पदमा निर्वाचित हुने पदाधिकारीको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। उपसभापतिमा चन्द्र भण्डारी, मधु आचार्य र विनोद चौधरी निर्वाचित हुँदा महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी भएका छन्।

अन्तिम मतपरिणामअनुसार खुला उपसभापतिमा चन्द्रकान्त भण्डारी र मधु आचार्य निर्वाचित भएका छन्। समावेशी समूहबाट विनोद चौधरी उपसभापतिमा विजयी भएका हुन्। त्यस्तै, खुला महामन्त्रीमा प्रदीप पौडेल र उदयशमशेर राणा तथा महिला महामन्त्रीमा डिला संग्रौला निर्वाचित भएकी छन्।

भण्डारीलाई सर्वाधिक मत, आचार्य पनि विजयी

खुला उपसभापतिमा निर्वाचित चन्द्रकान्त भण्डारीले ३ हजार ७३५ मत प्राप्त गरेका छन्। यस पदमा प्रतिस्पर्धा गरेका उम्मेदवारमध्ये भण्डारीले सबैभन्दा बढी मत प्राप्त गरेका हुन्। अर्का विजयी मधु आचार्यले २ हजार ३४२ मत पाएका छन्।

खुला उपसभापतिका अन्य उम्मेदवारमध्ये गोविन्द भट्टराईले १ हजार ७५२, सुरेन्द्रराज पाण्डेले १ हजार ६७३ र धनराज गुरुङले १ हजार ५९६ मत प्राप्त गरेका छन्। त्यस्तै, दीपक गिरीले ९२३ र चन्द्रमोहन यादवले ७६० मत पाएका छन्।

खुला उपसभापतिका दुई पदका लागि सात जना प्रतिस्पर्धामा थिए। अन्तिम मतपरिणाममा भण्डारी र आचार्यले अन्य प्रतिस्पर्धीलाई पछि पार्दै उपसभापतिमा स्थान सुरक्षित गरेका छन्।

जीवन परियारलाई ८७ मतले पछि पार्दै चौधरी विजयी

समावेशी उपसभापतिमा विनोद चौधरी निर्वाचित भएका छन्। उनले निकटतम प्रतिस्पर्धी जीवन परियारलाई ८७ मतले पराजित गरेका हुन्।

चौधरीले १ हजार ७४५ मत प्राप्त गर्दा परियारले १ हजार ६५८ मत पाएका छन्। यी दुई उम्मेदवारबीचको मतान्तर ८७ रहेको छ। समावेशी उपसभापतिमा प्रतिस्पर्धा गरेका फरमुल्लाह मन्सुरले १ हजार १४४, सीता गुरुङले १ हजार ११२ र रञ्जित कर्णले ५६२ मत प्राप्त गरेका छन्।

प्रदीप पौडेल सर्वाधिक मतसहित महामन्त्री

खुला महामन्त्रीमा प्रदीप पौडेल निर्वाचित भएका छन्। उनले ४ हजार १९४ मत प्राप्त गरेका छन्। उपसभापति र महामन्त्री दुवै पदको मतपरिणाममा पौडेलले सबैभन्दा बढी मत प्राप्त गरेका छन्।

खुला महामन्त्रीका दुई पदमध्ये अर्को पदमा उदयशमशेर राणा निर्वाचित भएका छन्। उनले २ हजार ३३० मत प्राप्त गरेका छन्।

राणाका निकटतम प्रतिस्पर्धी सुनिलकुमार शर्माले २ हजार २५७ मत पाएका छन्। राणा र शर्माबीचको मतान्तर ७३ रहेको छ। अन्तिम मतपरिणाममा राणाले शर्मालाई झिनो मतान्तरले पछि पार्दै महामन्त्री पदमा निर्वाचित भएका हुन्।

खुला महामन्त्रीका अन्य उम्मेदवारमध्ये गुरुराज घिमिरेले १ हजार ५१३, नैनसिंह महरले १ हजार १३४ र अमरसिंह पुन मगरले १ हजार १२५ मत प्राप्त गरेका छन्। त्यस्तै, शंकर तिवारीले १२३ र सन्तोष उपाध्यायले ९७ मत पाएका छन्।

महिला महामन्त्रीमा डिला संग्रौला निर्वाचित

महिला महामन्त्रीमा डिला संग्रौला (पन्त) निर्वाचित भएकी छन्। उनले ३ हजार ११८ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय ‘डिना’ लाई २५४ मतले पछि पारेकी हुन्।

डिनाले २ हजार ८६४ मत प्राप्त गर्दा अर्की प्रतिस्पर्धी रीता खनालले ८०४ मत पाएकी छन्। महिला महामन्त्री पदमा संग्रौला र डिनाबीच मुख्य प्रतिस्पर्धा देखिएको मतपरिणामले देखाएको छ।

सभापतिमा गगन, वरिष्ठ उपसभापतिमा विश्वप्रकाश

यसअघि कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित भइसकेका छन्। उनले प्रतिस्पर्धी श्यामकृष्ण खड्गीलाई पराजित गरेका हुन्। त्यस्तै, वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भएका थिए।

यससँगै सभापति, वरिष्ठ उपसभापति, महिला उपसभापति, अन्य उपसभापति तथा महामन्त्री पदको निर्वाचन परिणाम सार्वजनिक भएको छ। सहमहामन्त्री पदको मतगणना भने जारी रहेको छ।

कांग्रेसमा पदाधिकारीको संरचना विस्तार

१५औँ महाधिवेशनबाट कांग्रेसले पार्टीको पदाधिकारी संरचनामा पनि परिवर्तन गरेको छ। संशोधित विधानअनुसार पार्टीमा एक वरिष्ठ उपसभापतिसहित चार उपसभापति र तीन महामन्त्री रहने व्यवस्था गरिएको छ।

चार उपसभापतिमध्ये दुई जना खुला प्रतिस्पर्धाबाट, एक जना महिला र एक जना समावेशी समूहबाट निर्वाचित हुने व्यवस्था छ। त्यस्तै, तीन महामन्त्रीमध्ये दुई जना खुला र एक जना महिला समूहबाट निर्वाचित हुनेछन्।

यसअघि कांग्रेसमा दुई उपसभापति र दुई महामन्त्री रहने व्यवस्था थियो। नयाँ व्यवस्थाले पदाधिकारीको संख्या बढाएको छ। महाधिवेशनले केन्द्रीय कार्यसमितिको आकारसमेत विस्तार गरी २९७ सदस्यीय बनाएको छ। सहमहामन्त्रीको मतगणना सकिएपछि बाँकी पदाधिकारीको परिणाम पनि सार्वजनिक हुनेछ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७