विपद् व्यवस्थापनमा सरकारको भूमिकामाथि ओलीले उठाए प्रश्न
काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गोरखाको बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, पुनर्निर्माण र पुनःस्थापनामा सक्रिय हुन पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।
उनले विपद् व्यवस्थापनमा सरकारलाई प्रभावकारी भूमिका निर्वाह गर्न पनि आग्रह गरेका छन्।
मिसन पार्टी जागरण अभियान तथा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरे।
उनले पार्टीका नेता, कार्यकर्ता तथा जनवर्गीय, पेसागत र सामुदायिक सङ्गठनका सदस्यलाई प्रभावित क्षेत्रमा उद्धार र राहतमा खटिन आग्रह गरे।
‘बुढीगण्डकीमा बाढी गएर केही घर बगाएको छ, केही व्यक्ति बेपत्ता हुनुभएको छ र निकै ठूलो क्षति भएको छ,’ ओलीले भने, ‘यस विपत्तिको घडीमा उद्धार र राहत कार्यमा जुट्न तथा आवश्यकताअनुसार पुनर्निर्माण एवं पुनःस्थापनामा सहयोग गर्न पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्तालाई आग्रह गर्न चाहन्छु।’
ओलीले विपद्का बेला उद्धार तथा राहतको मुख्य जिम्मेवारी सरकारको हुने उल्लेख गर्दै बुढीगण्डकी बाढीमा विगतका कमजोरी दोहोरिन नदिन आग्रह गरे।
यसअघि भोटेकोशी र त्रिशूली क्षेत्रमा बाढी आउँदा उद्धार तथा राहतमा कमजोरी भएको उनको आरोप थियो।
‘सबैभन्दा बढी त सरकारको कर्तव्य नै हो यो,’ उनले भने, ‘यसअघि भोटेकोशी र त्रिशूलीमा बाढी आउँदा सरकारले हेलिकोप्टर नियन्त्रण गर्ने, दुरुपयोग गर्ने तथा राहत र उद्धारका कार्य समयमै नगरेको अवस्था थियो।
यसपटक त्यस्ता कुरा नदोहोरिऊन् भनेर म सरकारलाई आग्रह गर्न चाहन्छु।’
उनले विपद्को समयमा सरकार फराकिलो सोचका साथ अघि बढ्नुपर्ने बताए। उद्धार र राहतलाई प्रभावकारी बनाउन सर्वदलीय संयन्त्र गठन गर्नुपर्नेमा सरकारले त्यसो गर्न नसकेको भन्दै उनले आलोचना गरे।
ओलीले विपद्का बेला सरकारी हेलिकोप्टरको परिचालन र राहत वितरणको प्रक्रियामाथि पनि प्रश्न उठाए। उद्धार कार्यमा सबै पक्षलाई सहभागी गराउनुपर्ने भन्दै उनले सरकारी संयन्त्रले समन्वयकारी भूमिका खेल्नुपर्ने बताए।
विगतका विपद्का समयमा वैदेशिक सहयोगको उचित सदुपयोग हुन नसकेको र सहयोग स्वीकार गर्न ढिलाइ हुँदा उद्धार प्रभावित भएको आरोपसमेत ओलीले लगाए।
‘सरकार फराकिलो मन र फराकिलोपनका साथ उद्धार कार्यमा अगाडि बढोस्,’ उनले भने, ‘सरकारले एउटा सर्वदलीय समिति सम्म बनाउने फराकिलोपन पनि देखाउन सकेन।’
समयमै उद्धार हुन नसक्दा नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था दोहोरिन नदिन सरकारले आवश्यक तयारी र प्रभावकारी व्यवस्थापन गर्नुपर्ने उनको भनाइ थियो।
ओलीले बुढीगण्डकी बाढीबाट प्रभावित नागरिकको उद्धार र राहतलाई तत्काल प्राथमिकता दिन तथा त्यसपछि पुनर्निर्माण र पुनःस्थापनाका काममा समेत ध्यान दिन सरकारसँग आग्रह गरेका छन्।
.gif)

.png)



