कांग्रेस मतगणना : उपसभापतिमा चन्द्रकान्त भण्डारी र महामन्त्रीमा प्रदीप पौडेल अगाडि


२०८३ असोज २५ आइतबार ०८:३० बजे

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ।

ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा शनिबार साँझदेखि उपसभापति र महामन्त्री पदको मतगणना भइरहेको छ।

हालसम्म १ हजार १७९ मत गणना गरिएको विवरण सार्वजनिक भएको छ। गणनाको पछिल्लो परिणामअनुसार उपसभापति खुलातर्फ डा. चन्द्रकान्त भण्डारी र महामन्त्री खुलातर्फ प्रदीप पौडेलले अग्रता लिएका छन्।

उपसभापति खुलातर्फ भण्डारीले ६७९ मत प्राप्त गर्दा इन्जिनियर मधु आचार्यले ३९३, गोविन्द भट्टराईले ३४५ र सुरेन्द्रराज पाण्डेले ३३७ मत पाएका छन्। त्यस्तै दीपक गिरीले २६४, धनराज गुरुङले २४० र प्रा. डा. चन्द्रमोहन यादवले १३८ मत प्राप्त गरेका छन्।

उपसभापति समावेशीतर्फ विनोदकुमार चौधरीले ३८२ मतसहित अग्रता लिएका छन्। जीवन परियारले ३३०, फरमुल्लाह मन्सुरले १९०, सीता गुरुङले १७० र रञ्जित कर्णले १०७ मत प्राप्त गरेका छन्।

महामन्त्री खुलातर्फ प्रदीप पौडेल ७८८ मतसहित अगाडि छन्। अमरसिंह पुन मगरले ४७८, उदयशमशेर राणाले ४५६, डा. सुनिलकुमार शर्माले ३२५, गुरुराज घिमिरेले १९७, नैनसिंह महरले १४८, शंकर तिवारीले २० र डा. सन्तोष उपाध्यायले १८ मत पाएका छन्।

महामन्त्री महिलातर्फ डा. डिला संग्रौला (पन्त) ले ५८३ मत प्राप्त गरेकी छन्। उनकी प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय (डिना) ले ५५७ र रीता खनालले १५३ मत पाएकी छन्।

कांग्रेसको निर्वाचन परिणामअनुसार वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भइसकेका छन्। जारी मतगणनाबाट खुलातर्फ दुई र समावेशीतर्फ एक जना उपसभापति निर्वाचित हुनेछन्।

त्यस्तै महामन्त्रीमा खुलातर्फ दुई र महिलातर्फ एक गरी तीन जना निर्वाचित हुनेछन्। 

सभापति पदमा गगन थापा शुक्रबार बिहानै बहुमतसहित विजयी भइसकेका छन्।

काठमाडौँ उपत्यकाका तर्फबाट महिला केन्द्रीय सदस्यमा डा. अस्मिता शाक्य प्रधान पनि निर्विरोध निर्वाचित भएकी छन्।

उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएपछि सहमहामन्त्री तथा केन्द्रीय सदस्य पदको मतगणना सुरु गर्ने तयारी रहेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७