फूलपातीदेखि पूर्णिमासम्म देशभर रुट परमिट खुला
काठमाडौं : दशैंमा यात्रुको आवागमन सहज बनाउन सरकारले फूलपातीदेखि पूर्णिमासम्म देशभर सार्वजनिक तथा रिजर्भ सवारीसाधनका लागि रुट परमिट खुला गर्ने भएको छ।
चाडपर्वका बेला लामो तथा मध्यम दूरीका यात्रुको चाप बढ्ने भएकाले यातायात व्यवस्था विभागले निश्चित रुटमा सीमित नराखी सवारी सञ्चालन गर्न दिने निर्णय गरेको हो।
दशैंमा विभिन्न गन्तव्यका लागि रिजर्भमा जाने सवारीसाधनको संख्या बढ्ने भएकाले फूलपातीदेखि पूर्णिमासम्म देशभर सवारी सञ्चालन गर्न पाउने व्यवस्था गरिएको विभागका महानिर्देशक राजीव पोखरेलले जानकाररी दिए।
दशैंका बेला अत्यावश्यक वस्तुको ढुवानीलाई पनि प्राथमिकता दिइने विभागले जनाएको छ। फलफूल, तरकारी, औषधि, खाद्यान्न तथा खसीबोका लगायत दैनिक उपभोग्य र अत्यावश्यक सामग्री बोकेका सवारीसाधनलाई सडकमा प्राथमिकता दिइनेछ।
यात्रुको चापसँगै सार्वजनिक यातायातमा बढी भाडा असुल्ने, टिकटमा अनियमितता गर्ने तथा यात्रुलाई अलपत्र पार्ने गुनासो बढ्ने भएकाले विभागले अनुगमनसमेत कडाइ गर्ने तयारी गरेको छ।
यात्रुलाई भाडादर, टिकट तथा यात्रासम्बन्धी जानकारी उपलब्ध गराउन प्रमुख बसपार्क, नाका तथा यात्रुको बढी चाप हुने स्थानमा सहायता कक्ष सञ्चालन गरिने महानिर्देशक पोखरेलले बताए।
काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको चापलाई ध्यानमा राख्दै बसपार्कसँगै नागढुंगा, कोटेश्वरलगायत प्रमुख नाकामा पनि यात्रु सहायता कक्ष स्थापना गरिनेछ।
सहायता कक्षमार्फत यात्रुले सवारी तथा भाडासम्बन्धी समस्या र अन्य अनियमितताबारे तत्काल जानकारी तथा गुनासो गर्न सक्ने व्यवस्था मिलाइने विभागले जनाएको छ।
दशैं अवधिमा सवारी सञ्चालन, टिकट व्यवस्थापन, भाडादरको अनुगमन तथा अत्यावश्यक वस्तुको ढुवानीलाई प्राथमिकतामा राखेर यातायात व्यवस्थापन गरिने विभागको तयारी छ।
.gif)

.png)


