भोटेकोशी विपद् संसदीय विशेष समितिको जिम्मेवारी पराजुलीलाई


२०८३ असोज १४ बुधबार २०:०५ बजे
तस्बिरः फोटो सर्भिस नेपाल

काठमाडौं : भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी तथा त्यसको जलवायु परिवर्तनसँगको सम्बन्धबारे अध्ययन गर्न गठित संसदीय विशेष समितिको सभापतिको जिम्मेवारी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीलाई दिइएको छ। 

बुधबार बसेको समितिको बैठकले सांसद पराजुलीलाई जिम्मेवारी दिएको हो। सभामुख डोलप्रसाद अर्यालले बुधबार सिंहदरबारमा नवनिर्वाचित सभापति पराजुलीलाई पद तथा गोपनीयताको शपथ समेत गराएका छन्।

शप लिँदै सभापति पराजुलीले हिमाली क्षेत्रमा देखिएको विपत्तिलाई ‘हिमाली सुनामी’ को संज्ञा दिँदै पछिल्लो घटना विगत पाँच सय वर्षमा नदेखिएको प्रकृतिको महाविपत्ति भएको बताए।

उनले जलवायु परिवर्तन र नेपालको विपद् व्यवस्थापनबीचको सम्बन्धलाई थप स्पष्ट बनाउँदै अन्तर्राष्ट्रिय मञ्चमा नेपालले उठाउँदै आएको ‘जलवायु न्याय’ को मुद्दालाई व्यवहारमा कार्यान्वयन गर्नुपर्ने बताए।

समितिले भोटेकोशी–त्रिशूली क्षेत्रमा भएको विपत्तिको पृष्ठभूमि, पूर्वतयारी, उद्धार तथा राहत व्यवस्थापनका साथै सीमापार समन्वयका विषयमा अध्ययन गर्नेछ।

जलवायु परिवर्तनबाट सिर्जित जोखिम न्यूनीकरण गर्न विकासका अवधारणा र पूर्वाधार निर्माणमा आवश्यक परिवर्तनबारे समेत समितिले अध्ययन गर्नेछ। 

सङ्घीयताको मर्मअनुसार स्थानीय तहसम्म रहेका विपद् व्यवस्थापन संयन्त्र र उपलब्ध स्रोतको प्रभावकारी परिचालनको अवस्थालाई पनि समितिले विश्लेषण गर्नेछ।

तीन महिनाको कार्यावधि पाएको समितिले आउँदै गरेका चाडपर्वका बिदालाई समेत ध्यानमा राखेर कार्यतालिका बनाउने भएको छ। 

समितिको कार्यादेशमा अन्तर्राष्ट्रिय सरोकारवाला तथा संसदीय मैत्री समूहसँग समन्वय गर्ने विषयलाई समेत समेटिएको छ।

सबै दलको सर्वसम्मत समर्थनमा सभापति चयन भएका पराजुलीले १५ सदस्यीय समिति, कर्मचारी र सञ्चारकर्मीको सहकार्यमा विपद् न्यूनीकरणका लागि प्रभावकारी प्रतिवेदन तयार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७