तीन महिनामै २ अर्ब २० करोडको जुस निर्यात, सबैभन्दा ठूलो बजार भारत
काठमाडौं : नेपालबाट चालु आर्थिक वर्षको पहिलो तीन महिनामा २ अर्ब २० करोड रुपैयाँभन्दा बढीको जुस निर्यात भएको छ ।
भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०८३/८४ को साउनदेखि असोजसम्म नेपालले २ करोड २६ लाख ६९ हजार ५७५ लिटर विभिन्न प्रकारका जुस निर्यात गरेको हो । यसबाट नेपालले २ अर्ब २० करोड ७९ लाख ७६ हजार रुपैयाँ आम्दानी गरेको छ ।
नेपाली जुसको सबैभन्दा ठूलो बजार छिमेकी भारत हो। यसबाहेक केही परिमाणमा चीन र जापानमा पनि नेपाली जुस निर्यात भएको छ ।
नेपालबाट सबैभन्दा धेरै मिश्रित फलफूलको जुस (मिक्स जुस) निर्यात भएको छ । समीक्षा अवधिमा १ अर्ब ४३ करोड १५ लाख ७२ हजार रुपैयाँ बराबरको १ करोड ५७ लाख ५६ हजार ६२४ लिटर मिक्स जुस निर्यात भएको हो ।
मिक्स जुस भारतसँगै चीन र जापानमा पनि पुगेको छ । भारतमा मात्रै १ अर्ब ४२ करोड ८२ लाख ९१ हजार रुपैयाँ बराबरको १ करोड ५७ लाख ३३ हजार ३८६ लिटर मिक्स जुस निर्यात भएको छ ।
त्यस्तै, जापानमा २३ लाख ४७ हजार रुपैयाँ बराबरको १३ हजार ३८ लिटर र चीनमा ९ लाख ३५ हजार रुपैयाँ बराबरको १० हजार २०० लिटर निर्यात भएको भन्सारको तथ्यांक छ ।
मिक्स जुसपछि नेपालबाट सबैभन्दा धेरै निर्यात हुनेमा सुन्तला र भूइँकटहरको जुस छन् । पहिलो त्रैमासमा ३५ करोड ८७ लाख ८ हजार रुपैयाँ बराबरको ३२ लाख ७२ हजार २७५ लिटर सुन्तलाको जुस निर्यात भएको छ ।
त्यस्तै, २२ करोड १३ लाख २२ हजार रुपैयाँ बराबरको १८ लाख ४३ हजार ३२६ लिटर भूइँकटहरको जुस निर्यात भएको छ । यी दुवै प्रकारका जुस शतप्रतिशत भारतमा मात्रै पुगेका छन् ।
यसैगरी, नेपालबाट स्याउ, ग्रेपफ्रुट र गोलभेँडाको जुस पनि निर्यात भएको छ । समीक्षा अवधिमा १६ करोड ८५ लाख २२ हजार रुपैयाँ बराबरको १४ लाख ४८ हजार ९०४ लिटर स्याउको जुस निर्यात भएको छ ।
त्यस्तै, १ करोड ५२ लाख ७४ हजार रुपैयाँ बराबरको १ लाख ९२ हजार २५४ लिटर ग्रेपफ्रुट जुस र १ करोड २५ लाख ७८ हजार रुपैयाँ बराबरको १ लाख ५६ हजार १९२ लिटर गोलभेँडाको जुस पनि निर्यात भएको छ ।
यी तीनै प्रकारका जुसको प्रमुख गन्तव्य भारत रहेको भन्सार विभागको तथ्यांकले देखाउँछ ।
.gif)

.png)




