कांग्रेस महाधिवेशन : नयाँ नेतृत्वका लागि शुक्रबार बिहान ७ बजेदेखि मतदान
काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि शुक्रबार बिहान ७ बजेदेखि मतदान हुने भएको छ।
खराब मौसम, प्राविधिक कारण तथा साँझबाट मतदान सुरु गर्दा रातिसम्म प्रक्रिया लम्बिएर महाधिवेशन प्रतिनिधिलाई असहज हुने भएकाले मतदान शुक्रबार बिहानबाट गर्ने निर्णय गरिएको निर्वाचन समितिले जनाएको छ।
उम्मेदवार र मतदाता धेरै भएकाले मतपत्र छपाइमा समय लागेको हो। उनका अनुसार शुक्रबार बिहान ७ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए।
महाधिवेशनमा ७ हजार ३१७ प्रतिनिधि रहेको उनले जानकारी दिए। यद्यपि, निर्वाचन समितिका अनुसार नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि ७ हजार २५५ प्रतिनिधिले मतदान गर्नेछन्।
निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले मतदानका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको बताए। उनले मतपत्रमा हस्ताक्षर गर्ने काम भइरहेको बताए। मतपत्र धेरै भएकाले उनीसहित ३२ जना वरिष्ठ अधिवक्ता त्यसमा खटिएका छन्।
महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको शुक्रबारको होटल बसाइ तथा खानाको खर्च नेपाली कांग्रेसले नै बेहोर्ने भएको छ।
आर्थिक व्यवस्थापन समितिका संयोजक उमेश श्रेष्ठले महाधिवेशन प्रतिनिधिको अतिरिक्त एक दिनको बसाइ र खानाको खर्च पार्टीले व्यहोर्ने जानकारी दिए।
निर्वाचन समितिले प्रतिनिधिको सहजताका लागि विभिन्न मतदान केन्द्र तोकेको छ।
जसअनुसार राष्ट्रिय सभा गृह, मतदान केन्द्र ‘क’मा बागमती प्रदेशका, खुलामञ्च, मतदान केन्द्र ‘ख’मा कोशी प्रदेश तथा तराई–मधेस समूहका, हिमाल हलमा गण्डकी प्रदेशका, तराई–मधेस हलमा मधेश प्रदेशका र पहाड हलमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा नेपाली जनसम्पर्क समिति र भ्रातृ संस्थातर्फका प्रतिनिधिले मतदान गर्नेछन्।
मतदानस्थलमा प्रवेश गरेपछि प्रतिनिधिले आफूलाई तोकिएको प्रदेश तथा समूहको मतदान केन्द्रमा पुगेर मतदान गर्नुपर्नेछ।
मतदानअघि प्रतिनिधिको परिचयपत्र र मतदाता नामावली रुजु गरिनेछ। निर्वाचन समितिले मोबाइल फोनलगायत निर्वाचन आचारसंहिताले निषेध गरेका सामग्री मतदानस्थलमा लैजान नपाइने जनाएको छ।
महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दर्ता, दाबी–विरोध र उम्मेदवारी फिर्ताको प्रक्रिया पूरा भइसकेको छ। निर्वाचन समितिले उम्मेदवारको अन्तिम नामावलीसमेत सार्वजनिक गरिसकेको छ।
अब सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा विभिन्न समूहका केन्द्रीय सदस्यका लागि मतदान हुनेछ। मतदान सम्पन्न भएपछि आवश्यक प्रक्रिया पूरा गरी मतगणना सुरु गरिने निर्वाचन समितिले जनाएको छ।
मतगणना सकिएपछि परिणाम सार्वजनिक गरिनेछ।
कांग्रेसको १५औँ महाधिवेशनले विधान संशोधन गर्दै केन्द्रीय कार्यसमिति २९७ सदस्यीय बनाएको छ। शुक्रबार हुने मतदानबाट नयाँ केन्द्रीय नेतृत्व चयन हुनेछ।
.gif)

.png)


