कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज बेलुकीसम्म सार्वजनिक हुने


२०८३ असोज २९ बिहीबार १०:५२ बजे
फाइल फोटो

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भइरहेको मतगणनाको सम्पूर्ण परिणाम आज बेलुकीसम्म सार्वजनिक हुने भएको छ।

निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले आज बेलुकीसम्म सबै पदको मतपरिणाम सार्वजनिक हुने जानकारी कांग्रेस मिडिया सेन्टरलाई दिएका हुन्। 

सभापति, उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भइसकेको छ भने सहमहामन्त्री तथा केन्द्रीय सदस्यका विभिन्न समूहको गणना जारी छ।

निर्वाचन समितिले सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा छुट्टाछुट्टै समूह बनाएर मतगणना गरिरहेको छ। बाँकी पदको गणना तीव्र बनाउँदै आजै सम्पूर्ण परिणाम सार्वजनिक गर्ने तयारी गरिएको हो।

कांग्रेस सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन्। कुल ७ हजार १३ मत खसेकामा ५४ मत बदर भएका थिए। थापाले ६ हजार ५८४ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत पाएका छन्।

उपसभापतितर्फ वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भएका छन्। 

खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी र इन्जिनियर मधु आचार्य निर्वाचित भएका छन्। समावेशी उपसभापतिमा विनोदकुमार चौधरी निर्वाचित भएका छन्।

महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा निर्वाचित भएका छन्। महिला महामन्त्रीमा डिला संग्रौला निर्वाचित भएकी छन्।

सहमहामन्त्री र केन्द्रीय सदस्यको गणना जारी

सहमहामन्त्रीका विभिन्न समूहमा पनि केही पदको परिणाम आइसकेको छ। खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित भएका छन्। 

महिला सहमहामन्त्रीमा प्रतिमा गौतम, आदिवासी जनजातितर्फ बहादुरसिंह लामा र पिछडिएको क्षेत्रतर्फ जीवनबहादुर शाही निर्वाचित भएका छन्।

विभिन्न समावेशी समूहका केन्द्रीय सदस्यको अन्तिम मतपरिणामसमेत सार्वजनिक भइरहेको छ। केही समूहको मतगणना सम्पन्न भए पनि बाँकी पदको परिणाम आउन भने अझै बाँकी छ।

गत असोज १८ गतेदेखि सुरु भएको कांग्रेसको १५औँ महाधिवेशनमा असोज २३ गते मतदान भएको थियो। 

सभापति पदको मतपरिणाम असोज २४ गते बिहानै सार्वजनिक भए पनि अन्य पदको मतगणना अपेक्षाअनुसार तीव्र हुन नसक्दा परिणाम आउन ढिलाइ भएको हो।

निर्वाचन समितिले बाँकी मतगणना सम्पन्न गरी आज बेलुकीसम्म सम्पूर्ण परिणाम सार्वजनिक गर्ने लक्ष्य राखेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७