पाँच वर्ष सचिव रहेका सिग्देल अवकाशमा
काठमाडौं : पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल अनिवार्य अवकाशमा गएका छन्।
२०७८ असोज १४ गते सचिवमा बढुवा भएका सिग्देलले करिब पाँच वर्ष विशिष्ट श्रेणीमा रहेर निजामती सेवाबाट अवकाश लिएका हुन्। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसहित कर्मचारीहरूले मन्त्रालयमा बिदाइ कार्यक्रमको आयोजना गरी सिग्देललाई बिदाइ गरेका हुन्।
सिग्देलले २०५५ वैशाख १५ गते सिँचाइ विभागअन्तर्गत इन्जिनियर पदबाट निजामती सेवाको यात्रा सुरु गरेका थिए। त्यसपछि सिनियर डिभिजनल इन्जिनियर (उपसचिव) र सुपरिटेन्डेन्ट इन्जिनियर (सहसचिव) हुँदै २०७८ असोज १४ गते सचिवमा बढुवा भएका थिए।
सचिवमा बढुवा भएपछि उनको पहिलो पदस्थापन नेपाल ट्रस्टको कार्यालयमा भएको थियो। त्यसपछि २०७९ जेठ १० गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सचिव बनेका उनी २०७९ माघ ४ गते ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सरुवा भए।
२०७९ माघमा ऊर्जा मन्त्रालय पुगेका सिग्देल २०८० चैत १५ गते पुनः भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय फर्किएका थिए। त्यसपछि २०८१ साउन १४ गते ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, २०८१ असोज २ गते जल तथा ऊर्जा आयोगको सचिवालय र २०८१ मंसिर १६ गते शहरी विकास मन्त्रालयमा सरुवा भएका थिए।
सिग्देलले आफ्नो सेवा अवधिमा सिँचाइ, जलस्रोत, सडक, शहरी विकास तथा पूर्वाधार क्षेत्रका विभिन्न निकायमा जिम्मेवारी सम्हाले। सहसचिवका रूपमा समेत उनले भौतिक पूर्वाधार तथा शहरी विकाससँग सम्बन्धित मन्त्रालय, विभाग तथा मातहतका निकायमा काम गरेका थिए।
उनको सचिवको कार्यकाल भने केही विवादित बन्यो। तत्कालीन शहरी विकास मन्त्रालयमा रहँदा तत्कालीन मन्त्री प्रा. डा. कुमार इङ्नामले सार्वजनिक रूपमा उनको कार्यशैलीप्रति असन्तुष्टि जनाएका थिए।
बिदाइ समारोहमा समेत मन्त्री इङ्नामले सचिव सिग्देल र विभागीय महानिर्देशक रवीन्द्र बोहराको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका थिए।
शहरी विकास तथा भवन निर्माण विभागको महानिर्देशक नियुक्तिका क्रममा ज्येष्ठ सहसचिवलाई पन्छाएर रवीन्द्र बोहरालाई जिम्मेवारी दिइएको विषयमा पनि सिग्देलको आलोचना भएको थियो।
प्राविधिक सेवाबाट सचिवमा पुगेका सिग्देलले आफ्नो करिब साढे २८ वर्ष लामो निजामती सेवायात्रा इन्जिनियरबाट सचिवको जिम्मेवारी हुँदै टुंग्याएका छन्।
.gif)

.png)


