नेतृत्व पुनर्गठन नगरी चुनावमा गए एमालेले उम्मेदवार पाउँदैन : ठाकुर गैरे

‘नेताहरू मिल्दैमा भोट बढ्दैन, नेतृत्व र नेतृत्व प्रणालीकै पुनर्गठन जरुरी छ’


२०८३ असोज ६ मंगलबार २०:२८ बजे

काठमाडौं :  नेकपा (एमाले) का केन्द्रीय सदस्य ठाकुर गैरेले पार्टीको नेतृत्व र नेतृत्व प्रणाली पुनर्गठन नगरी आगामी निर्वाचनमा गए उम्मेदवार पाउनसमेत कठिन हुने चेतावनी दिएका छन्।

एमाले केन्द्रीय कमिटीको मंगलबारको बैठकमा बोल्दै गैरेले स्पष्ट कार्ययोजनासहित नेतृत्व हस्तान्तरणको समय तोकेर पार्टी पुनर्गठन गर्नुपर्ने बताएका हुन्। उनले नेतृत्व हस्तान्तरण, संगठनको पुनर्संरचना र पार्टीका दस्तावेज पुनर्लेखनलाई प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा जोड दिए।

‘अध्यक्षद्वारा पेस गरिएको वर्तमान प्रतिवेदनलाई पुनर्लेखन गर्नुपर्छ। बैठकमा सदस्यहरूले उठाएका विषय, विभिन्न भनाइहरू र यसअघि निर्वाचनसम्बन्धी कार्यदलले तयार पारेको प्रतिवेदनलाई समेत समेटेर एकीकृत प्रतिवेदन बनाउनुपर्छ,’ उनले भने।

अहिले नेताहरूबीच एकता भएको घोषणा गर्दैमा पार्टीको मत नबढ्ने उनको भनाइ थियो। ‘अहिले नेताहरू मिल्यौँ भन्दैमा र घोषणा गर्दैमा भोट बढ्नेवाला छैन। यसका लागि नेतृत्व र नेतृत्व प्रणालीकै पुनर्गठन जरुरी छ,’ गैरेले भने।

पार्टीलाई पुनर्गठन नगरी यही अवस्थामा निर्वाचनमा गए आगामी स्थानीय तहको निर्वाचनमा उम्मेदवार पाउनसमेत मुस्किल हुने उनले बताए। पार्टीका नेता–कार्यकर्ता अन्यत्र गएर निर्वाचन लड्ने अवस्था आउन सक्ने भन्दै उनले पुनर्गठनपछि मात्रै निर्वाचनमा जानुपर्ने धारणा राखे।

बैठकको सुरुवातमै गैरेले पार्टी सञ्चालन र कार्यक्रम व्यवस्थापनको प्रक्रियाप्रति समेत असन्तुष्टि जनाएका थिए। ‘सबै आफैँले चलाउने र सबै कुरा आफैँले लिने हो भने तपाईंहरूले सबै पदाधिकारी हटाएर एकल नेतृत्वमा जानुस्। केन्द्रीय कमिटीमा आफैँले कार्यक्रम चलाउने र आफैँले सबै कुरा गर्ने हो भने अरू किन चाहियो?’ उनले प्रश्न गरेका थिए।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७