एक सातामा उपत्यकाबाट साढे ४ लाख गाउँ फर्किए
दसैंसम्म १५ लाख यात्रु उपत्यकाबाहिरिने व्यवसायीको अनुमान
काठमाडौं : दसैं मनाउन पछिल्लो एक सातामा काठमाडौं उपत्यकाबाट ४ लाख ३९ हजार ४९२ यात्रु बाहिरिएका छन् । यात्रु बाहिरिने क्रम बढेसँगै पृथ्वी र बीपी राजमार्गमा सवारीसाधनको चाप बढेको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मध्यम तथा लामो दूरीका सवारीसाधनलाई रुट परमिट खुला गरिएपछि उपत्यकाभित्र चल्ने सार्वजनिक सवारीसाधनको चाप भने घटेको छ । नागढुंगा, कोटेश्वरलगायत नाकाबाट यात्रु बाहिरिने क्रम जारी छ ।
सडक विभागले भने दसैंका लागि राजमार्गमा अवरोध हुने गरी सडक समस्या नरहेको दाबी गरेको छ । दैनिक १५ हजारभन्दा बढी सवारीसाधन आवतजावत गर्ने नागढुंगा–मुग्लिन सडकखण्डमा अहिले सबैभन्दा बढी सवारी चाप छ । सडकमा समस्या नरहेको र सवारी चाप व्यवस्थापन गर्न आवश्यक मेसिन तथा जनशक्ति तयारी अवस्थामा राखिएको विकास सहायता कार्यान्वयन महाशाखाका वरिष्ठ डिभिजनल इन्जिनियर सुरेश पौडेलले बताए ।
बीपी राजमार्ग हुँदै दैनिक १० हजारभन्दा बढी सवारीसाधन बाहिरिरहेका छन् । सडकमा ठूलो अवरोध नभए पनि एकतर्फी सञ्चालन हुने मोटरेबल पुलमा सवारी जाम हुने गरेको छ । सवारी चाप व्यवस्थापनका लागि सडक विभाग र प्रहरीले समन्वय गरिरहेको सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशले बताए ।
बीपी राजमार्गमा मोटरसाइकल, स्कुटर, सुमो, बोलेरो, माइक्रोबस र ठूला यात्रुवाहक बसको चाप बढेको प्रहरीले जनाएको छ । कान्ति राजमार्ग र त्रिभुवन राजपथमा भने उल्लेख्य सडक समस्या नरहेको ट्राफिक प्रहरीको भनाइ छ ।
ट्राफिक प्रहरीले असोज २३ देखि २९ गतेसम्म मादक पदार्थ सेवन गरी सवारी चलाउने ४५५ जना र लागूपदार्थ सेवन गरी सवारी चलाउने १८ जनालाई कारबाही गरेको जनाएको छ । अष्टमीसम्म उपत्यकाबाट बाहिरिने यात्रुको संख्या अझै बढ्ने प्रहरीको अनुमान छ ।
यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौला (सरोज) ले दसैंसम्म विभिन्न नाकाबाट १५ लाखभन्दा बढी यात्रु उपत्यकाबाट बाहिरिने अनुमान गरे । सडक अवरुद्ध नभए पनि सडकको अवस्थाका कारण सवारीसाधन सञ्चालन सहज नभएको उनको भनाइ छ ।
.gif)

.png)



