कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पौडेलको फराकिलो अग्रता
महिला महामन्त्रीबीच १३ मतको अन्तर
काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उपसभापतिको खुलातर्फ चन्द्रकान्त भण्डारी र महामन्त्रीको खुलातर्फ प्रदीप पौडेलले फराकिलो अग्रता लिएका छन्।
महामन्त्री (महिला)मा भने डिला संग्रौला र महालक्ष्मी उपाध्याय (डिना)बीच कडा प्रतिस्पर्धा देखिएको छ। हालसम्म गणना भएको २ हजार २ सय ३१ मतमध्ये भण्डारीले १ हजार ५७ र पौडेलले १ हजार ३ सय ८१ मत प्राप्त गरेका छन्।
उपसभापतिको खुलातर्फ दोस्रो स्थानका मधु आचार्यले ७१२ र तेस्रो स्थानका सुरेन्द्रराज पाण्डेले ६८० मत पाएका छन्। उनीहरूबीच ३२ मतको मात्र अन्तर छ। गोविन्द भट्टराईले ६०९, धनराज गुरुङले ४०६, दीपक गिरीले ३०१ र चन्द्रमोहन यादवले १९३ मत प्राप्त गरेका छन्।
उपसभापतिको समावेशीतर्फ विनोदकुमार चौधरी ६१५ मतसहित अगाडि छन्। जीवन परियारले ५७८ मत पाएका छन्। उनीहरूबीच ३७ मतको अन्तर छ। सीता गुरुङले ३३४, फरमुल्लाह मन्सुरले २८५ र रञ्जित कर्णले १८३ मत प्राप्त गरेका छन्।
महामन्त्रीको खुलातर्फ पौडेलपछि उदयशमशेर राणा ७८६ मतसहित दोस्रो र अमरसिंह पुनमगर ६९५ मतसहित तेस्रो स्थानमा छन्। उनीहरूबीच ९१ मतको अन्तर छ । सुनिलकुमार शर्माले ५२६, गुरुराज घिमिरेले ३२८, नैनसिंह महरले २७०, शंकर तिवारीले ४६ र सन्तोष उपाध्यायले २८ मत प्राप्त गरेका छन्।
महिला महामन्त्रीमा संग्रौला ९६५ मतसहित अगाडि छन् भने डिनाले ९५२ मत पाएकी छन्। उनीहरूबीच १३ मतको मात्र अन्तर रहेकाले प्रतिस्पर्धा रोचक बनेको छ। रिता खनालले २५१ मत प्राप्त गरेकी छन्।
.gif)

.png)


