दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणले गति लिने

तनहुँका सबै वनमा कटान अनुमति


२०८३ असोज ५ सोमबार ०९:०० बजे
फाइल फोटो

दमौली : तनहुँ जलविद्युत आयोजनाअन्तर्गत निर्माण भइरहेको दमौली–भरतपुर २२० केभी प्रसारण लाइनका लागि तनहुँतर्फका सबै सामुदायिक वनमा रुख कटान गर्न आवश्यक कानुनी स्वीकृति प्राप्त भएको छ।

आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार प्रसारण लाइन क्षेत्रमा पर्ने रुखको छपान तथा टाँचा लगाउने काम सम्पन्न भएपछि डिभिजन वन कार्यालयले थप १२ सामुदायिक वनमा प्रवेश गरी रुख कटान गर्न अनुमति दिएको हो। यससँगै प्रसारण लाइन क्षेत्रभित्र पर्ने तनहुँका सबै १७ सामुदायिक वनमा रुख कटानको स्वीकृति प्राप्त भएको छ। प्रसारण लाइन क्षेत्रमा देवघाट गाउँपालिकाका पाँच तथा बन्दीपुर गाउँपालिका र व्यास नगरपालिकाका छ–छ वटा सामुदायिक वन पर्छन्। चितवनतर्फ भने रुख कटानको काम जारी रहेको आयोजना प्रमुख भण्डारीले जानकारी दिए।

दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणको प्याकेज–३ अन्तर्गत करिब ३५ किलोमिटर क्षेत्रमा ९४ वटा टावर निर्माण गर्नुपर्नेछ। निर्माण व्यवसायी केइसी इन्टरनेशनल लिमिटेड, भारतले हालसम्म ८३ वटा टावरको जग निर्माण र ७८ वटा टावर जडान गरिसकेको छ। प्याकेज–३ को समग्र निर्माण प्रगति ८२ प्रतिशत पुगेको आयोजना प्रमुख भण्डारीले बताए। रुख कटानका लागि आवश्यक स्वीकृति प्राप्त भएसँगै प्रसारण लाइन निर्माणका बाँकी कामलाई थप गति दिन सहज हुने आयोजनाको अपेक्षा छ।

१४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजना तीनवटा प्याकेजमा निर्माण भइरहेको छ। प्याकेज–१ अन्तर्गत बाँधलगायतका संरचना निर्माणको जिम्मेवारी सोङ्दा–कालिका जेभीले पाएको छ। उक्त प्याकेजको निर्माण प्रगति ६३ प्रतिशत पुगेको छ। यस्तै, प्याकेज–२ अन्तर्गत विद्युतगृह तथा सम्बन्धित उपकरण निर्माणको काम सिनो हाइड्रो कर्पोरेसन चाइनाले गरिरहेको छ। यस प्याकेजको प्रगति ७९ प्रतिशत रहेको छ। आयोजनाको समग्र निर्माण प्रगति भने ७८ प्रतिशत पुगेको जनाइएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७