ग्लोबल आइएमई बैंक ‘फोनपे अनर्स’का दुई विधामा सम्मानित
काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेड ‘फोनपे अनर्स २०८३’ अन्तर्गत दुई विधामा सम्मानित भएको छ।
नेपालको विद्युतीय वित्तीय भुक्तानी प्रणालीको प्रवर्द्धन र विकासमा पुर्याएको योगदानको कदर गर्दै बैंकलाई उक्त सम्मान प्रदान गरिएको हो।
बैंकले ‘फोनपे डाइरेक्टमार्फत सबैभन्दा बढी कारोबार गर्ने बैंक’ र ‘फोनपे क्यूआरमार्फत सबैभन्दा बढी कारोबार गर्ने बैंक’ विधामा पुरस्कार प्राप्त गरेको जनाएको छ।
बैंकका अनुसार मोबाइल बैंकिङ सेवा ‘ग्लोबल स्मार्ट प्लस’ मार्फत अन्तरबैंक रकम स्थानान्तरण र फोनपे क्यूआर भुक्तानीमा ग्राहकलाई सहज सेवा उपलब्ध गराउँदै उच्च कारोबार गर्न सफल भएकाले यी दुई विधामा सम्मान प्राप्त भएको हो।
ग्राहकलाई सुरक्षित, भरपर्दो र प्रभावकारी विद्युतीय वित्तीय सेवा उपलब्ध गराउँदै भुक्तानी प्रणालीको विस्तारमा बैंकले खेलेको भूमिकाको कदरस्वरूप सम्मान प्रदान गरिएको बैंकले जनाएको छ।
बैंकको मोबाइल बैंकिङ सेवामार्फत ग्राहकले एक खाताबाट अर्को बैंकको खातामा रकम स्थानान्तरण गर्न तथा क्यूआर सङ्केत स्क्यान गरेर भुक्तानी गर्न सक्छन्।
विद्युतीय बैंकिङ सेवाप्रति ग्राहकको बढ्दो आकर्षण र ग्राहककेन्द्रित सेवाले यो उपलब्धि हासिल गर्न सहयोग पुगेको बैंकको भनाइ छ।
बैंकले आगामी दिनमा पनि विद्युतीय रूपान्तरण, वित्तीय पहुँच विस्तार र भुक्तानी पूर्वाधारको विकासलाई प्राथमिकता दिँदै नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
.gif)

.png)



