निष्ठावान् र निर्भीक भएर देशको प्रतिनिधित्व गर्छु : अमेरिकाका लागि प्रस्तावित राजदूत थापा
काठमाडौं : संयुक्त राज्य अमेरिकाका लागि प्रस्तावित राजदूत चिरनजङ्ग थापाले निष्ठावान्, निर्भीक र लगनशील कूटनीतिज्ञका रूपमा नेपालको प्रतिनिधित्व गर्ने प्रतिबद्धता जनाएका छन्।
सोमबार संसदीय सुनुवाइ समितिमा आफ्नो कार्ययोजना र प्रतिबद्धता प्रस्तुत गर्दै थापाले अमेरिकामा नेपालको उपस्थिति र पहिचानलाई थप मजबुत बनाउने लक्ष्य सुनाए।
उनले वासिङ्टन डिसीमा आयोजना हुने महत्त्वपूर्ण तथा सान्दर्भिक कार्यक्रममा निमन्त्रणा प्राप्त गरी नेपालको सहभागिता बढाउने योजना समेत प्रस्तुत गरे।
परराष्ट्र मन्त्रालयसँगको सहकार्यमा नयाँ कूटनीतिक जनशक्तिलाई अवसर दिने र अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीलाई इन्टर्नसिपमा संलग्न गराउने योजना पनि उनले सुनाए।
वित्तीय सीमिततालाई ध्यानमा राख्दै मितव्ययिता अपनाउने र आर्थिक पारदर्शिता कायम गर्ने प्रतिबद्धता जनाउँदै थापाले अमेरिकाका ५० वटै राज्यमा रहेका दुई लाख ५० हजारभन्दा बढी नेपालीको क्षमता, स्रोत र प्रभावलाई नेपालको हितमा उपयोग गर्ने बताए।
उनले सरकारले दिएको जिम्मेवारी निष्ठा र न्यायपूर्वक निर्वाह गर्ने पनि बताए। संसदीय सुनुवाइ समितिले आफूलाई अनुमोदन गरेर पठाएकोमा गर्व गर्न सक्ने गरी कार्यसम्पादन गर्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरे।
.gif)

.png)



