काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात विस्तार

६ रुटमा २८ विद्युतीय साझा बस सञ्चालन


२०८३ असोज ४ आइतबार ०८:२१ बजे

काठमाडौं : साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा विस्तार गर्ने भएको छ। संविधान दिवसको अवसर पारेर शनिबारदेखि थप पाँच रुटमा सेवा विस्तार गर्दै कुल ६ रुटमा २८ वटा विद्युतीय बस सञ्चालन गर्न लागिएको हो।

साझा यातायातका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भूपेन्द्र अर्यालका अनुसार गत वैशाख १ गतेदेखि दुई रुटमा सात वटा बसमार्फत रात्रिकालीन सेवा सञ्चालन हुँदै आएको थियो। हाल नागढुंगा–एयरपोर्ट र लगनखेल–बुढानीलकण्ठ रुटमा सञ्चालन भइरहेको रात्रिकालीन सेवा अब थप रुटमा विस्तार गर्न लागिएको हो।

नयाँ व्यवस्थाअनुसार बुढानीलकण्ठ–गोदावरीमा ६, जगाती–रत्नपार्क–ठमेलमा ६, विमानस्थल–नागढुंगा ४, कीर्तिपुर–जमल ४ तथा चक्रपथ परिक्रमाका लागि दुवैतर्फ ८ वटा विद्युतीय बस सञ्चालन हुनेछन्। यसअघि सञ्चालनमा रहेका नागढुंगा–एयरपोर्ट र लगनखेल–बुढानीलकण्ठ रुटमा क्रमशः चार र तीन वटा बस सञ्चालन हुनेछन्।

साझा यातायातका अनुसार रात्रिकालीन बसहरू सम्बन्धित प्रस्थानबिन्दुबाट बेलुका ८ बजेदेखि राति ११ बजेसम्म सञ्चालन हुनेछन्। यात्रुको चाप र आवश्यकताका आधारमा बसको संख्या तथा सेवा सञ्चालनको समयसमेत समायोजन गर्न सकिने कम्पनीले जनाएको छ।

चक्रपथ परिक्रमामा दुवैतर्फ गरी आठ वटा बस सञ्चालन हुने भएकाले उपत्यकाका विभिन्न क्षेत्रलाई रात्रिकालीन सार्वजनिक यातायातसँग जोड्न सहज हुने अपेक्षा गरिएको छ। त्यस्तै, भक्तपुर–ठमेल, बुढानीलकण्ठ–गोदावरी, विमानस्थल–नागढुंगा, ठमेल–ट्रेकल तथा कीर्तिपुर–जमल लगायत रुटमा यात्रुको आवश्यकताअनुसार सेवा सञ्चालन गरिने साझा यातायातले जनाएको छ।

काठमाडौं उपत्यकामा सार्वजनिक यातायातको माग बढ्दै गए पनि रातिको समयमा सार्वजनिक सवारी साधनको उपलब्धता तुलनात्मक रूपमा कम रहेको भन्दै साझा यातायातले सेवा विस्तार गरेको हो। रात्रिकालीन सेवा विस्तार भएपछि अबेरसम्म कार्यालय तथा व्यवसायमा काम गर्ने कर्मचारी, विद्यार्थी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा अन्य रात्रिकालीन सेवामा कार्यरत यात्रुलाई आवतजावतमा सहज हुने अपेक्षा गरिएको छ। विद्युतीय बस सञ्चालन भएकाले रात्रिकालीन सार्वजनिक यातायातको पहुँच विस्तारसँगै वातावरणीय प्रदूषण न्यूनीकरणमा समेत योगदान पुग्ने साझा यातायातको विश्वास छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७