महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको निम्तो
काठमाडौं : नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवालाई पार्टीको १५औँ महाधिवेशनमा सहभागी भएर उद्घाटन गरिदिन आग्रह गरेका छन्। बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै थापाले पूर्वसभापति देउवा महाधिवेशनमा सहभागी भएर उद्घाटन गर्नु पार्टीका लागि सम्मानको विषय हुने बताएका हुन्।
थापाले पार्टी विधानअनुसार महाधिवेशनबाट नयाँ सभापति चयन हुने भएकाले देउवालाई सम्मानपूर्वक बिदाइ गर्ने समय पनि यही भएको बताए। यसअघि पूर्वसभापति तथा अन्य नेताहरूले उठाएका विषय सम्बोधन भइसकेको दाबी गर्दै उनले अब थप अलमल नगरी महाधिवेशनको प्रक्रियामा अघि बढ्नुपर्नेमा जोड दिए। ‘महाधिवेशनको दिनमा पूर्व पार्टी सभापतिज्यू आएर महाधिवेशनको उद्घाटन गरिदिनु हाम्रा लागि ठूलो सम्मानको विषय हो,’ थापाले भने, ‘अब उहाँ पुनः सभापति हुने होइन, महाधिवेशनबाट नयाँ सभापति चयन हुने व्यवस्था छ। त्यसैले सम्मानपूर्वक बिदाइ हुने समय पनि यही हो।’
उनले पार्टीभित्र देखिएका विवाद र आरोप–प्रत्यारोपलाई पछाडि छाडेर सबै पक्ष महाधिवेशनमा सहभागी हुनुपर्ने बताए। पूर्वपदाधिकारी तथा वरिष्ठ नेताहरूलाई नयाँ पुस्तालाई साथ लिएर पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउन पनि उनले आग्रह गरे। थापाले लामो समय पार्टीमा पदाधिकारीका रूपमा योगदान गरेका नेताहरूलाई पूर्वपदाधिकारीका रूपमा दिइएको सम्मान पदका कारण मात्र नभई उनीहरूप्रतिको भरोसा र सम्मानका कारण भएको बताए। काँग्रेसले असोज ३ र ४ गते वडा अधिवेशन तथा असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्ने कार्यतालिका अघि सारेको छ।
.gif)

.png)

