एन्फाको चेतावनी : शुक्रबारसम्म निकास नदिए दैनिक गतिविधि सञ्चालन गर्छौँ


२०८३ असोज १ बिहीबार १६:१७ बजे

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)ले फिफाको निलम्बन फुकुवा गर्न सरकारले शुक्रबारसम्म सकारात्मक पहल नगरे फिफाको निर्देशनअनुसार आफ्ना दैनिक गतिविधि सञ्चालन गर्ने चेतावनी दिएको छ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एन्फाले राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले कामकारबाही रोक्न गरेको निर्णय बिनासर्त खारेज गर्नुपर्ने र हालको एन्फा कार्यसमितिलाई पुनर्बहाली गर्नुपर्ने माग गरेको हो। एन्फाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्द्रमान तुलाधरले विधानअनुसार रोकिएको निर्वाचन प्रक्रिया यथाशीघ्र अघि बढाउनुपर्ने बताए। उनका अनुसार आन्तरिक मामिलामा तेस्रो पक्षको हस्तक्षेपका कारण फिफाले एन्फालाई निलम्बन गरेपछि राखेपले बैंक खाता, सामाजिक सञ्जाल, वेबसाइट, सवारीसाधन तथा प्रशासनिक कामकारबाही रोक्ने निर्णय गरेकाले घरेलु फुटबलका गतिविधि प्रभावित भएका छन्। निलम्बनका कारण नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताको अवसरसमेत गुमाएको एन्फाको भनाइ छ। 

एन्फा महासचिव किरण राईले फिफा र एसियाली फुटबल महासंघ (एएफसी)सँग भइरहेको संवाद तथा समस्या समाधानका लागि सरकार र राखेपले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने बताए। उनले एन्फाको विवाद व्यक्तिगत नभई सैद्धान्तिक विषयमा केन्द्रित रहेको दाबी गर्दै पदाधिकारीले पद छाड्दैमा समस्या समाधान नहुने बताए। कुनै अप्रिय घटना भए त्यसको जिम्मेवारी कसले लिने भन्ने प्रश्न उठाउँदै उनले राज्य गम्भीर हुनुपर्ने बताए। एन्फाले सरकारसँग थप विवाद वा टकराव गर्ने पक्षमा आफूहरू नरहेको स्पष्ट पार्दै संवाद र छलफलबाटै समस्याको निकास खोज्न आग्रह गरेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७