प्रदर्शन रोक्न दिल्लीमा व्यापक धरपकड
निर्वाचन आयोगविरुद्ध प्रदर्शन रोक्न दिल्लीमा व्यापक धरपकड, ककक्रोच जनता पार्टीका संस्थापकसहित सयौँ नियन्त्रणमा
नयाँदिल्ली : भारतको राजधानी नयाँदिल्लीमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै आयोजना गरिएको प्रदर्शन रोक्ने क्रममा प्रहरीले विपक्षी दलका प्रमुख नेतादेखि चर्चित युट्युबर र विद्यार्थी अगुवासम्मलाई नियन्त्रणमा लिएको छ ।
शनिबार (१० अक्टोबर) जन्तरमन्तरमा प्रदर्शन गर्न आह्वान गरिएको थियो । ककक्रोच जनता पार्टी (सीजेपी) र विभिन्न विपक्षी दल तथा विद्यार्थी संगठनले मतदाता सूचीमा कथित हेरफेर भएको आरोप लगाउँदै प्रदर्शनको तयारी गरेका थिए । तर दिल्ली प्रहरीले प्रदर्शनको अनुमति नदिएपछि राजधानीका विभिन्न स्थानमा सुरक्षा व्यवस्था कडा पार्दै प्रदर्शनकारीलाई नियन्त्रणमा लिन थालेको थियो ।
प्रहरी कारबाहीमा पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री तथा तृणमूल कांग्रेसकी प्रमुख ममता बनर्जी, आम आदमी पार्टीका राष्ट्रिय संयोजक तथा दिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाल र केरलका वरिष्ठ वामपन्थी नेता पिनाराई विजयनसमेत नियन्त्रणमा परेका छन् । चर्चित युट्युबर ध्रुव राठी र प्रदर्शन आयोजक सीजेपीका शीर्ष नेताहरूलाई पनि प्रहरीले नियन्त्रणमा लिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
ममता, केजरीवाल र विजयन नियन्त्रणमा
तृणमूल कांग्रेसकी प्रमुख ममता बनर्जीलाई दिल्लीको साउथ एभिन्यूस्थित बस बिसौनीमा धर्ना दिइरहेका बेला प्रहरीले नियन्त्रणमा लिएको हो । उनीसँगै पार्टीका अन्य नेताहरू पनि नियन्त्रणमा परेका छन् ।
तृणमूल कांग्रेसका राज्यसभा सांसद डेरेक ओ’ब्रायन र डोला सेन पनि प्रहरी नियन्त्रणमा लिइएका नेतामध्ये छन् । बनर्जीले आफूहरू जन्तरमन्तर जान खोज्दा प्रहरीले रोकेको बताएकी थिइन् । उनले भारतको वर्तमान अवस्थालाई आपत्कालीन अवस्थाभन्दा पनि खराब भएको टिप्पणी गरेकी छन् ।
त्यस्तै, आम आदमी पार्टीका संयोजक केजरीवाललाई लोधी इस्टेटस्थित निवासबाहिरबाट नियन्त्रणमा लिइएको समाचार छ । उनले भिडियो सन्देश जारी गर्दै देशका युवा जागिसकेको बताएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा तानाशाही भइरहेको आरोप लगाउँदै उनले आफूहरू नडराउने बताएका छन् ।
‘अब ज्ञानेश कुमारले राजीनामा दिनैपर्छ । कथित मत चोरीलाई अब जनताले सहने छैनन्,’ केजरीवालले भिडियोमा भनेका छन् । उनीसँगै आपका राज्यसभा सांसद सञ्जय सिंह पनि भिडियोमा देखिएका छन् ।
केरलका वरिष्ठ वामपन्थी नेता पिनाराई विजयन पनि प्रहरी नियन्त्रणमा परेको समाचार छ । उनीसँगै भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए बेबी, केरलका पार्टी सचिव एमभी गोविन्दन, ए विजयराघवन, केके शैलजा, राज्यसभा सांसद जोन ब्रिटास र अन्य वामपन्थी नेताहरूलाई पनि नियन्त्रणमा लिइएको समाचारमा उल्लेख छ ।
विमान अवतरण गरेलगत्तै सीजेपीका नेता नियन्त्रणमा
प्रदर्शनको आह्वान गरेको ककक्रोच जनता पार्टीका संस्थापक अभिजित दीपकेसहित तीन जना शीर्ष नेता दिल्ली विमानस्थलमा विमान अवतरण गरेलगत्तै प्रहरी नियन्त्रणमा परेका छन् ।
प्रहरी नियन्त्रणमा पर्ने अन्य दुई नेता सौरव दास र आशुतोष रांका हुन् । उनीहरूलाई विमानबाट ओर्लिएपछि नियन्त्रणमा लिएर फरक–फरक स्थानमा लगिएको समाचार एजेन्सी तथा भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
सीजेपीकी कानुनी विभाग प्रमुख रत्ना सिंहलाई पनि नियन्त्रणमा लिइएको समाचार छ । पार्टीले आफ्ना नेता तथा कार्यकर्तामाथि भएको कारबाहीको विरोध गर्दै तत्काल रिहाइको माग गरेको छ ।
ध्रुव राठी पनि नियन्त्रणमा
चर्चित युट्युबर ध्रुव राठीलाई दिल्ली प्रहरीले हरियाणाको गुरुग्रामस्थित निवासबाट नियन्त्रणमा लिएको छ । उनी सीजेपीले आह्वान गरेको प्रदर्शनमा सहभागी हुन जाने तयारीमा थिए ।
द इन्डियन एक्सप्रेसका अनुसार गुरुग्रामको सेक्टर ५६ स्थित उनको निवासमा प्रहरी पुगेको थियो । राठीलाई नियन्त्रणमा लिएपछि सीजेपीले विरोध जनाएको छ । पार्टीले निर्वाचन प्रक्रियासम्बन्धी प्रश्न उठाउने नागरिक, विद्यार्थी र अभियन्तालाई दबाउन खोजिएको आरोप लगाएको छ ।
राठी भारतको राजनीतिक तथा सामाजिक विषयमा भिडियो सामग्री बनाउने चर्चित डिजिटल सामग्री निर्माता हुन् । उनको नियन्त्रणको घटनाले सामाजिक सञ्जालमा पनि व्यापक चर्चा पाएको छ ।
सयौँ प्रदर्शनकारी नियन्त्रणमा
भारतीय सञ्चारमाध्यमका प्रारम्भिक विवरणअनुसार प्रदर्शनमा सहभागी हुन खोजेका सयौँ मानिसलाई दिल्लीका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको छ । एनडीटीभीले सीजेपीका तीन शीर्ष नेतासहित ४०० भन्दा बढी मानिस नियन्त्रणमा लिइएको जनाएको छ । अन्य सञ्चारमाध्यमले नियन्त्रणमा लिइएकाहरूको सङ्ख्या अझ बढी हुन सक्ने विवरण दिएका छन् ।
प्रदर्शन रोक्न दिल्लीका विभिन्न क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको थियो । जन्तरमन्तर आसपासका सडकमा अवरोध खडा गरिएको, सवारीसाधन जाँच बढाइएको र दिल्ली मेट्रोका विभिन्न स्टेशनमा आवतजावतमा प्रतिबन्ध लगाइएको समाचार छ । केही क्षेत्रमा मोबाइल इन्टरनेट सेवासमेत अस्थायी रूपमा बन्द गरिएको विवरण सार्वजनिक भएको छ ।
प्रहरीले प्रदर्शनको अनुमति नदिइएको र शान्ति सुरक्षा कायम गर्न आवश्यक कदम चालिएको जनाएको छ । प्रदर्शन आयोजक तथा विपक्षी दलहरूले भने मतदाता सूचीमा कथित हेरफेरबारे प्रश्न उठाउँदा विरोध प्रदर्शन गर्न नदिइएको आरोप लगाएका छन् ।
के हो ‘जन्तरमन्तर २.०’ प्रदर्शन ?
सीजेपीले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै ‘जन्तरमन्तर २.०’ नाममा प्रदर्शन आह्वान गरेको थियो । मतदाता सूचीको विशेष सघन पुनरावलोकन प्रक्रियामा वास्तविक मतदाताको नाम हटाइएको र सूचीमा अनियमितता भएको विपक्षी दल तथा अभियन्ताहरूको आरोप छ ।
उनीहरूले मतदाता सूची संशोधनको प्रक्रिया पारदर्शी बनाउन र निर्वाचन आयोगलाई जवाफदेही बनाउन माग गरेका छन् । भारतको निर्वाचन आयोगले भने मतदाता सूचीको प्रमाणीकरणलाई नियमित प्रक्रियाका रूपमा व्याख्या गर्दै आएको छ । विवादित सूचीमा नाम छुटेका मतदाताले आवश्यक प्रक्रिया पूरा गरी नाम समावेश गराउन सक्ने आयोगको भनाइ छ ।
प्रदर्शनमा प्रमुख विपक्षी दलका नेताहरूको सहभागिता र प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएपछि घटनाले राष्ट्रिय राजनीतिमा नयाँ विवाद सिर्जना गरेको छ । विपक्षी दलहरूले यसलाई लोकतान्त्रिक अधिकारमाथिको हस्तक्षेप भनेका छन् भने प्रशासनले सुरक्षा व्यवस्थालाई प्राथमिकता दिएको छ ।
प्रहरी नियन्त्रणमा लिइएका सबै व्यक्तिलाई औपचारिक रूपमा पक्राउ गरिएको हो वा केहीलाई प्रदर्शनस्थल पुग्न नदिन अस्थायी रूपमा हिरासतमा राखिएको हो भन्नेबारे भने एकीकृत आधिकारिक विवरण सार्वजनिक भइसकेको छैन ।
.gif)

.png)


