नागरिक एपबाटै पाइने भयो अन्तर्राष्ट्रिय भ्रमण विवरण, अध्यागमन धाउनुपर्ने बाध्यता हट्यो


२०८३ भदौ २६ शुक्रबार १७:३४ बजे
अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारी

काठमाडाैं : नेपाली नागरिकले आफ्नो अन्तर्राष्ट्रिय आगमन तथा प्रस्थानसम्बन्धी (भ्रमण) विवरण अब ‘नागरिक एप’मार्फत नै प्राप्त गर्न सक्ने भएका छन् ।

गृह मन्त्रालयअन्तर्गतको अध्यागमन विभागले सेवा प्रवाहलाई सुरक्षित, व्यवस्थित तथा प्रविधिमैत्री बनाउने क्रममा नागरिक एपमार्फत भ्रमण विवरण उपलब्ध गराउने व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।नयाँ व्यवस्था लागू भएसँगै विदेश भ्रमणको विवरण लिन नागरिकले अध्यागमन विभागको कार्यालयमा भौतिक रूपमा उपस्थित भएर निवेदन दिनुपर्ने बाध्यता हटेको छ  ।

यसअघि विभिन्न सङ्घ–संस्था तथा व्यक्तिले विदेश भ्रमणको विवरण लिन विभागमा भौतिक रूपमा उपस्थित भएर निवेदन पेस गर्दै आएका थिए । यसरी विवरण लिन विभाग धाउनुपर्ने भएकाले सेवाग्राहीले समय र खर्च व्यहोर्नुका साथै विभागको प्रशासनिक कार्यबोझसमेत बढ्दै आएको थियो ।

विभागका अनुसार अब सेवाग्राहीले आफ्नो स्मार्टफोनमा रहेको ‘नागरिक एप’ खोली ‘अध्यागमन (Immigration)’ शीर्षकमा प्रवेश गरी ‘भ्रमण विवरण’ विकल्प चयन गरेर विवरण प्राप्त गर्न सक्नेछन् । नागरिक एपमा लिंक गरिएको राहदानीका आधारमा सम्बन्धित नागरिकले आफ्नो अन्तर्राष्ट्रिय आगमन तथा प्रस्थानको विवरण हेर्न र डाउनलोड गर्न सक्नेछन् ।

विभागले नागरिक एपमा लिंक गरिएको सम्बन्धित राहदानीको विवरण मात्र प्राप्त हुने भएकाले सेवाको प्रयोगमा व्यक्तिगत गोपनीयता र विवरणको सुरक्षासमेत कायम हुने जनाएको छ ।

त्यस्तै, नागरिक एपमार्फत प्राप्त भएको भ्रमण विवरणलाई सम्बन्धित निकाय वा संस्थाले आधिकारिक स्रोतका रूपमा मान्यता दिन सक्ने विभागले स्पष्ट पारेको छ । नयाँ व्यवस्थाले सेवाग्राहीको समय र लागत बचत हुनुका साथै अध्यागमन सेवाको प्रवाहलाई थप सहज र प्रभावकारी बनाउने विभागको अपेक्षा छ ।

सेवा प्रयोगका क्रममा कुनै प्राविधिक वा प्रक्रियागत समस्या आएमा अध्यागमन विभागको ०१–४५२९६६० नम्बरमा फोन वा info@nepalimmigration.gov.np मा इमेलमार्फत सम्पर्क गर्न सकिने विभागका निर्देशक तथा प्रवक्ता टीकाराम ढकालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७